पर्वत, २६ बैशाख
कोभिड १९ को महामारीका कारण संक्रमणको दर विश्वव्यापी रुपमा बढ्दै गएपछि र पर्वतमा समेत दिनानुदिन संक्रमितहरु थपिँदै गएपछि पर्वतमा अक्सिजनको व्यवस्थापन गर्न थालिएको छ ।
कोभिड १९ का संक्रमितहरुलाई मुख्यतः अक्सिजनको आवश्यकता पर्ने भएपछि पर्वत अस्पतालले अहिले आफैसँग भएका अक्सिजन सिलिण्डर एकिकृत गर्दै अन्य विभिन्न विकास निर्माण सम्बद्ध आयोजना तथा नीजि स्वास्थ्य संस्था सँग भएका सिलिण्डरहरुलाई समेत सहयोग गर्न आग्रह गरेको छ ।
सोही अनुरुप मोदी खोला जलविद्युत केन्द्रले पर्वत अस्पताललाई अक्सिजन सहितको ४ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन समितिको निणर्य अनुसार अक्सिजनको समस्या हुन नदिन जिल्लाका नीजि स्वास्थ्य संस्था सहित अन्य विकास निर्माण सम्बद्ध आयोजना सँग सम्पर्क गर्ने निणर्य भएको थियो । केन्द्रले आफ्नै प्रयोजनमा ल्याउनका लागि राखिएका सिलिण्डरहरु सहयोगका लागि माग भएपछि अस्पताललाई उपलब्ध गराएको केन्द्रप्रमुख आभाष ओझाले जानकारी दिए ।
अहिले पर्वत अस्पतालमा झण्डै ५३ थान अक्सिजन सिलिण्डर उपलब्ध रहेका छन् । जिल्ला अस्पतालमा ४९ सिलिण्डर रहेको र मोदीखोला जलविद्युत केन्द्रबाट ४ अक्सिजन सहितको सिलिण्डर थप भएपछि ५३ सिलिण्डर रहेको अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर ढुण्डिराज पौडेलले बताए ।
पर्वत जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएर हाल कोभिडका विरामीका लागि बनाइको १० बेड आइसोलेसनमा सोही प्लान्ट बाट सिधै बेडमा अक्सिजन जाने व्यवस्था भएपनि थप समस्यालाई मध्यनजर गर्दै व्यवस्थापनमा जुटिएको डाक्टर पौडेलले जानकारी दिए ।









