पर्वत १४ माघ । पर्वत जेसीजको आयोजनामा कुश्मा नगरपालिका ४ अर्मादीमा सञ्चालित अर्मादी आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । पर्वत जेसीजले यस बर्ष विविध कार्यक्रम सञ्चालन गर्ने वार्षिक कार्ययोजना अन्तर्गत नेपाल जेसीजले अवलम्बन गरेको एसडिजी कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कुश्मा नगरपालिका ४ की वडाध्यक्ष मिना कर्माचार्यले यस प्रकारका कार्यक्रमको माध्यमवाट दिगोपनका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको थियो भने यस्ता कार्यक्रम राज्यका कार्यक्रममा जोड्न सकेमा अझै प्रभावकारी बन्ने बताउदै स्थानीय संघरसंस्थाको समन्वयमा कार्यक्रम सक्रिय बन्न आग्रह गर्नुभएको थियो ।
विशिष्ट अतिथि वसन्त कुमार कर्माचार्यले विद्यालयमा अनुशासन तथा मर्यादाका लागि अभिभावकको समेत मुख्य भुमिका रहने कुरालाइ औल्याउदै विद्यालय पोशाकले त्यो अनुशासनमा वाध्ने कुराको जोड दिनुभएको थियो र यस्का लागि अभिभावकले प्रयास गर्नुपर्ने वताउनु भएको थियो।
गत बर्ष पर्वत जेसीजले विद्यार्थीका लागि बर्ष भरी नै दिवा खाजा कार्यक्रम सम्पन्न गरिसकेको थियो भने विपन्न परिवारका विद्यार्थीलाइ उत्प्रेरित गराउन शैक्षिक सामाग्री हस्तान्तरणले निकै टेवा पुर्याउन सक्ने र विद्यालय जाने वातावरण सिर्जना हुने कुरा मनन गर्दै यस्ता कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा अध्यक्ष सुमन श्रेष्ठले जनाउनु भएको थियो।
पर्वत जेसीजका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पर्वत जेसीजका पुर्व अध्यक्ष एवम् अध्यक्षिय क्लब का अध्यक्ष प्रेम कुमार गुरुङ्ग(अशोक), विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमनाथ आचार्य, प्रधानाध्यापक जगदिशराज शर्मा लगायतले सामाग्री हस्तान्तरण कार्यले सकरात्मक सन्देश दिने बताउनुभएको थियो ।
कार्यक्रम संयोजक सुरेन्द्र पौडेलको स्वागत, निर्देशक विद्या आचार्यको आस्थापाठ, महासचिव उषा चापागाइको सञ्चालनमा सम्पन्न सो कार्यक्रमका लागि जेसीज सदस्यहरूले आफ्नो खर्च कटौती गरि झोला, कापी, कलम लगायतका सहयोग गरिएको थियो भने केही कापी धौलागिरी कपि तथा मसलन्द उद्योग कुश्माले विद्यार्थीका लागि उपलब्ध गराएको थियो ।









