पर्वत, १५ मंसिर
ढुवानी (ट्रान्सपोर्ट) व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको १२ औं बार्षिक साधारणसभा तथा पाँचौं महाधिवेशन हालै सम्पन्न भएको हो । चितवनको पर्यटकीय क्षेत्र सौराहामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा विश्वनाथ खनाल निर्वाचित भएका छन् भने महासचिवमा पर्वतको मोदी गाउँपालिका घर भई हाल ढुवानी व्यवसायमा संलग्न दर्शन ट्रान्सपोर्टका सञ्चालक अरुण श्रेष्ठ निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचन भएता पनि अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष विश्वनाथ खनाल र विराटनगर ट्रान्सपोट एशोसिएशनका निःवर्तमान अध्यक्ष विनोद कुमार सिंहको उम्मेदवारी परेको थियो ।
उक्त निर्वाचनमा जम्मा ६० मत खसेको र त्यसमध्ये ३२ मत प्राप्त गरि विश्वनाथ खनाल ४ मतको अन्तरले विजयी भएका थिए । विश्वनाथ खनालको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरूमा अच्युतराज खनाल (बरिष्ठ उपाध्यक्ष ), क्षेत्रगत उपाध्यक्षहरूमा क्रमशः ध्रुव दाहाल खत्री, केशव गिरी, खेम जंग बस्नेत र प्रदिप अर्याल रहेका छन् भने महासचिवमा अरुण कुमार श्रेष्ठ, सचिवमा पुष्पराज श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र प्रसाद गुप्ता रहेका छन् । त्यसैगरी ५ जना केन्द्रीय सदस्यहरूमा कृष्ण राज पौडेल, सुशिल पौडेल, श्याम प्रसाई, धर्मराज पोख्रेल र टेकराज पोख्रेल रहेका छन् ।
यस अघि पनि महासचिवको पदभार सम्हाल्दै आएका अरुण कुमार श्रेष्ठ पुनः महासचिवमा नै निर्विरोध निर्वाचित भएका हुन् ।









