अबिरल वर्षासँगै आएको पहिरोका कारण गण्डकी प्रदेशको म्याग्दी, कास्की र लमजुङमा १२ जनाको ज्यान गएको छ । पहिरोमा परेर ६ जना बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार पोखरा महानगरपालिकाकाे ४ ठाउँमा पहिरो जाँदा ७ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका- १८को गोठादीमा रहेकाे टंकबहादुर थापाको घर माथिबाट गएराति आएको पहिरोमा परेर ५ जनाको ज्यान गएको छ । ८ जना घाइते भएका छन् ।
उनीहरुको मणिपाल र पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल)मा उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता सुभाष हमालले नयाँ पत्रिकालाई जानकारी दिए । राति जन्म दिनको भोज खाएर बसेकाहरु उक्त पहिरोमा परेका हुन् ।
हमालका अनुसार पोखरामहानगरपालिका-२५ हेमजामा पहिरो जाँदा ७० वर्षीय हिमकली अधिकारीको ज्यान गएको छ । पहिरोले पुरिएर तीन वटा बाख्रा मरेका छन् । थप सात घर जोखिममा छन् । जोखिममा रहेका घरका परिवारलाई राती नै सुरक्षित स्थानमा सारिएको प्रहरी प्रवक्ता हमालले जानकारी दिए ।
यसैगरी पोखरा महानगरपालिका- २६ को जिरेलमा पहिरो जाँदा दुर्गाबहादुर सुनारको मृत्यु भएको छ । उनकी श्रीमती र छोरा सकुशल छन् भने घर पहिरोले बगाएको छ ।
पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित सिमलटुँडामा पहिरो जाँदा स्थानीय सन्तबहादुर मगरको घर भत्किएको छ । सन्तबहादुर सहित उनका छोरा र श्रीमती घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।
पोखराको कालीमाटी सडकखण्डमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग बिहानैदेखि अबरुद्ध भएकाे छ ।
लमजुङमा एकै परिवारका तीन जनाको ज्यान गयाे
अबिरल बर्षासँगै आएको पहिरोले घर पुरिँदा लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बिहीबार राति पहिरोले घर पुरिँदा बेंसीशहर नगरपालिका-१० खाँचे घर भई बेंसीशहर नगरपालिका-७, सातबिसेमा बस्दै आएका अन्दाजी ३२ वर्षीय दीपक तामाङ, उनकी श्रीमती अन्दाजी २६ वर्षीया बिमाया तामाङ र छोरा अन्दाजी ९ वर्षका छेवाङ तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार बर्षाका कारण बिहीबार राति साढे १० बजेतिर घरलाई पहिरोले पुरेको थियो । बिमायाको शव राति १२:५० बजेतिर फेला परेको थियो । दीपक र छोराको शव बिहान २:४५ बजेतिर संगै फेला परेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुको उद्धार गरेका हुन् । मृतक ३ जनाको शव लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।
यसैगरी पहिरो खस्दै गर्दा भागेका बेंसीशहर नगरपालिका-७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीशहर-१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरुको बेंसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, ६ बेपत्ता
लगातार परेको अविरल बर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा २ जनाको ज्यान गएको छ भने ६ जना बेपत्ता भएका छन् । पाँच घर पहिरोले बगाएको छ । धवलागिरी गाउँपालिका-६ मराङको रिखामा ६ जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका छ जना वेपत्ता भएकाे मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।
उनका अनुसार भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । धनबहादुर घाइते भएकाे वडा सदस्य लोकबहादुर पुनले जानकारी दिए ।भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासी समेत रहेका वडा सदस्य पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् ।
यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले सोमनाथ पौडेलको घर बगाउँदा दुई जनाको ज्यान गएको छ । वेपत्ता भएका दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पुर्याएको छ । यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको हो । परिवारका सदस्यले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा १ जना घाइते भएका छन् ।
बेपत्ता भएकाको उद्धारका लागि प्रहरीको दुई टोली घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मौसम खुलेमा हेलिकोप्टर मार्फत उद्धारको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । उनका अनुसार अझै केही दिन अविरल बर्षा हुने पूर्वानुमान गरिएसँगै म्याग्दीमा विपतमा परेकाको उद्धारको लागि टोली तयारी अवस्थामा रहेको छ ।
त्यस्तै जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्ले र बेनपा-९ घतान जोड्ने पुल रघुगंगा नदीले बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जोड्ने यातायात सम्पर्क बन्द भएको छ ।
बेलिब्रिज नजिकै रहेको झोलुङ्गे पुल समेत बगाउने अबस्थामा पुगेकाे छ । पुल नजिकै रहेका २० घर परिवारलाई रघुगंगा गाउँपालिकाले राहतको व्यवस्था गर्ने जनाएको छ । अविरल बर्षाले म्याग्दीका विभिन्न ग्रामिण सडक समेत अवरुद्ध भएका छन् । दजनौँ बस्ती जोखिममा परेका छन् ।
-नयाँ पत्रिकाबाट









