पर्वत, चैत ११ गते
नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट गाउँलाई जोगाउन परदेशबाट गाउँ फर्किएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनपत्र जारी गरिएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीले नेपाल सरकारले सचेत गराएपछि गाउँ भित्रिएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै पत्राचार गरेको हो ।
वडा नं. ५ लुंखुदेउरालीका वडा अध्यक्ष जीवन उच्चै ठकुरीले दिएको जानकारी अनुसार चैत्र १ देखि चैत्र ११ गते सम्म विभिन्न मुलुकबाट गाउँ फर्किएका ७ जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै पत्राचार गरिएको हो ।
पत्राचार गरिएका मध्ये चैत्र १ र चैत्र ७ गते कतारबाट घर फर्किएका २ जना रहेका छन् भने अन्य ५ जना भारतबाट फर्किएका स्थानीय नागरिक रहेका छन् । उनीहरुमा हाल सम्म कोरोना भाइरसको कुनै लक्षण नदेखिएको भएपनि लामो अवधि पछि पनि देखिन सक्ने भएकोले घरबाट बाहिर ननिस्कन आग्रह गर्दै पत्राचार गरिएको वडा अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।
गाउँ फर्किएका उनीहरुलाई १४ दिन सम्म घरबाट बाहिर ननिस्कन आग्रह गर्दै कुनै लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँचका लागि जान आग्रह गरिएको उहाँले बताउनुभयो ।







