पर्वत २४ बैशाख – आगामी जेठ १ देखि ११ गते सम्म सञ्चालन हुन लागेको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको तयारी तीब्र पारिएको छ । महायज्ञ शुरु हुने साता दिन नजिकिँदै गर्दा अक्ष्यतृतीयको अवसरमा ध्वजा तथा भूमिको पुजा सम्पन्न गरिएको छ ।
मंगलबार एक धार्मिक कार्यक्रमको आयोजना गरी भूमिको पुजा तथा महाध्वजको पुजा सम्पन्न गरिएको हो । कार्यक्रमका अवसरमा अतिथिको रुपमा उपस्थित मुख्य मन्त्रीको कार्यालय गण्डकी प्रदेशका सचिव दलबहादुर अधिकारीले धार्मिक पर्यटनको हिसावले पर्वतमा आयोजना हुन गइरहेको विराट कोटीहोम गण्डकी प्रदेशकै आकर्षणको विन्दु रहेको बताएका थिए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पर्वतमा आयोजित महायज्ञ तथा कोटीहोमलाई सफल बनाउन आफु र आफ्ना मातहतका हरेक निकायबाट सहयोग जारी रहेको बताउँदै सभ्य र भब्य बनाउन सवैको भूमिका उत्तिकै रहेको बताएका थिए । कार्यक्रममा महायज्ञ आयोजक समितिका बरिष्ठ उपाध्यक्ष एवं पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले महायज्ञलाई सफल बनाउन मुख्यत कुश्मा बजार भित्रका बासिन्दाहरु तथा संघ संस्थाहरुको सक्रियता बढ्नुपर्नेमा जोड दिँदै सवैको सहयोगको अपिल समेत गरेका थिए ।
महायज्ञ आयोजक समितिका अध्यक्ष पृथ्वीनारायण शर्माको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा युवा पण्डित श्रीधर बस्यालले समेत महायज्ञ सम्पन्न गर्न धार्मिक मनहरु एकजुट भएर सवै कार्यकलापमा लाग्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रमको संचालन महासचिब अच्युत तिवारीले गरेका थिए ।

अराध्यदेव पार्वतीको जन्म पर्वतकै पाङमा भएको किम्बदन्तीका आधारमा विश्वमै अग्लो शिवपार्वतीको मुर्ति बनाउन महायज्ञ सञ्चालन गर्न लागिएको हो । माता पार्वतीको जन्म पर्वतको पाङ्गमा भएको र गुप्तेश्वर गुफामा तपस्या गरि महादेवलाई पतिको रुपमा पाएको किंवदन्ति रहि आएकोे छ । अहिलेसम्म शिव या पार्वतीको मुर्तिमात्र छुट्टाछुट्टै बनाईरहेका बेला पर्वतमा पहिलोपटक संयुक्त मुर्ति स्थापना गरिने भएको संयोजक शर्माले बताए । मुर्तिसँगै धर्मशाला र शिश महल समेत निर्माण गर्न लागिएको छ ।









