‘राम्रो सँग पढ्नु खर्चको समस्या पर्दैन’
पर्वत, २५ चैत
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अघिल्लो शैक्षिक सत्रमा विद्यालय भर्ना अभियानका क्रममा आफैले भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका विभिन्न ५ बालबालिकालाई पोशाक, स्टेशनरी सामग्री र नगद रकम सहयोग गर्नुभएको छ । आइतबार गृह जिल्ला पर्वत आउनुभएका तिमिल्सिनाले बालबालिकालाई निरन्तर सहयोग प्रदान गर्ने क्रममा बालबालिकालाई सामग्री र खर्चबापत रकम दिनुभएको हो ।
नयाँ शैक्षिकसत्र शुरु हुन लागेका बेला अध्यक्ष तिमिल्सिनाले ११ बर्षिया सुहानी नेपालीलाई आगामी शैक्षिकसत्रको शुरुमा लाग्ने सबै खर्च र पोशक सहित अभिभावक र बिद्यालयलाई रकम हस्तान्तरण गर्नुभएको हो । नयाँ शैक्षिक सत्रका लागि पनि आवश्यक सामाग्री, पोशाक र नगद हस्तान्तरण गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ‘बर्षमा दुई वा तीनपटक अभिभावक र बिद्यार्थीलाई नै भेटेर सहयोग गर्दै आएको छु ।’ उहाँले भन्नुभयो ‘बिद्यार्थीको पठनपाठनमा सुधार आएको र नियमित बिद्यालय गएको सुनेपछि उनीहरुलाई सहयोग जारी राख्न उत्साह थप्दो रहेछ ।’ उहाँले बालबालिकाहरुलाई सहयोग प्रदान गर्दै राम्रो सँग पढ्न सल्लाह दिँदै खर्चको अभाव र चिन्ता नगर्न आश्वासन दिनुभयो ।
उहाँले सुहानी लगायत पर्वतको तिलहारस्थित नवजागृत माबिमा अध्ययनरत अनुप जिसी र देउपुर नमुना आवासीय माबिमा अध्ययनरत निकिता क्षेत्रीलाई पनि यस बर्षको शैक्षिकसत्रका लागि आवश्यक नगद बिद्यालयका शिक्षक र अभिभावकका बिचमा आइतबार नै हस्तान्तरण गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले पर्वतमा तीन जना र पोखरामा दुई जना बिद्यार्थीलाई अभिभावकत्व ग्रहण गर्दै गत बर्ष बिद्यालयमा भर्ना गर्नुभएको थियो ।









