पर्वत, ९ चैत

छिमेकी जिल्ला कास्की पोखराबाट बसमा लुकाएर भित्राउँदै गरेको अवस्थामा पर्वत प्रहरीले २ सय किलो कुखुराको अबैध मासु नष्ट गरेको छ । पोखरामा बर्डफ्लू देखिएपछि धौलागिरिमा कुखुरा आयातमा रोक लगाइएपछि ब्यबसायीले तयारी मासु बोरामा लुकाएर आयत गरेको पाइएको हो ।
साविक धौलागिरि अञ्चलको प्रबेशबिन्दु पर्वतको डिमुवामा बसमा चेकजाँच गर्दा शुक्रबार दिउँसो बोरामा लुकाएर ल्याउँदै गरेको छ बोरा तयार मासु जफत गरि नष्ट गरिएको हो । ना ६ ख ७१८० नम्बरको बसमा लुकाएर बिक्रीका लागि मुस्ताङ्ग लैजादै गरेको मासु डिमुवामा प्रहरीले जफत गरेको हो । पोखराबाट बिक्रीका लागि लैजाँदै गरेको २ सय किलो भन्दा बढी मासु जफत गरेर नष्ट गरिएको पर्वत प्रहरीले जानकारी दिएको छ । जफत गरिएको मासु मोदी गाउँपालिकाका जनप्रतिनिधि, पशु प्राबिधिक र प्रहरीको रोहबरमा नष्ट गरिएको छ ।
केही दिन यता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वत सहित साविक धौलागिरीका बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गमा समेत कुखुरा आयतमा रोक लगाइएको थियो । पोखरा– बागलुङ्ग सडकको धौलागिरी प्रबेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पन्थीजन्य बस्तुहरु आयतमा रोक लगाइएको कुस्मा नगरपालिकाका पशु चिकित्सक राम्जीप्रसाद पौडेलले जानकारी दिए । कास्की, चितवन, मकवानपुर लगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयतमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाई छ ।
पर्वत जिल्ला कुखुराको मासुमा आत्मनिर्भर भएपछि पर्यटकीय सिजन भएका कारण मुस्ताङ्ग र म्याग्दीका पर्यटकीय क्षेत्रमा पोखरा, चितवन लगायतका जिल्लाबाट ठुलो मात्रामा कुखुरा र अण्डा बिक्री बितरण हुँदै आएको छ ।








