पर्वत, १६ जेठ,
गण्डकी प्रदेश सरकारले कानूननै बनाएर नीजि सवारी साधन ‘राइड सेयरिङ’का लागि प्रयोग गर्न दिएको भन्दै गण्डकी प्रदेश अन्तर्गतका यातयात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत आज गण्डकी प्रदेश अन्तर्गत सार्वजनिक यातयात बन्द हुँदा यात्रुहरु मर्कामा परेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,नेपाल यातायात मजदुर संघले संयूक्त रुपमा आन्दोलनको कार्यक्रम तय गरेका हुन् ।
यातायात व्यवसायीले रातो प्लेट (नीजि सवारी साधन) लाई समेत यात्रु ओसारपसारमा प्रयोग गर्न दिँदा कालो प्लेट (सार्वजनिक सवारी साधन) का सार्वजनिक सवारी साधन सञ्चालक मर्का पर्ने बताउँदै ३ बुँदे माग अघि सारेका छन् । व्यवसायीले उक्त निर्णय खारेजी सँगै सरकारको सार्वजनिक सवारी साधन सञ्चालन विधिको ठोस नीति प्रष्टाउनुपर्ने र सार्वजनिक यातयात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागु गर्नुपर्ने माग राखेका छन् ।
सरकारले वार्ताका लागि समिति बनाएर बार्तामा आउन आह्वान गरेपनि यातायात व्यवसायीले वार्तालाई अस्विकार गरी १६ जेठदेखि गण्डकी क्षेत्रमा सार्वजनिक यातयात व्यवसायी बन्द गरेका हुन् । व्यवसायीले १९ जेठदेखि देशव्यापी अनिश्चितकालीन रुपमा आफ्ना सवारीसाधन घर, ग्यारेजमा थन्क्याउने चेतावनी समेत दिएको यातयात व्यवसायी बचाउ अभियानका पर्वत संयोजक हेम शर्मा पौडेलले बताउनुभयो ।
यातयात ठप्प हुँदा पर्वतको कुश्माबजारदेखि लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरु चोक चोकमा अलपत्र परेका छन् । शुक्रबार विहानै देखि सार्वजानिक सवारी साधन पूर्ण रुपमा ठप्प छन् ।
नेपालटिभी अनलाइनबाट









