पर्वत, १७ बैशाख : करदाता सेवा कार्यालय कुश्माले समयमा कर विवरण पेश नगरेका फर्म तथा कम्पनीहरुका लागि १५ दिने अल्टिमेटम जारी गरेको छ । कार्यालयले बैशाख ११ गते सूचना जारी गर्दै पर्वतका १ सय ४६ फर्म तथा कम्पनीका लागि १५ दिन भित्र विवरण अद्यावधिक गर्न अल्टिमेटम जारी गरेको हो ।
पर्वतमा ८ सय २६ अन्तशुल्क, ७ हजार ६ सय ९८ व्यक्तिगत पान प्रयोग कर्ता, ७ सय ७० भ्याट तर्फ र १ सय ३९ आयकर तर्फका करदाता रहेका छन् ।
प्रकाशित सूचना अनुसार ६ महिना भन्दा बढी कर विवरण पेश नगरेका करदातालाई अहिले ताकेता गरिएको हो । सवै भन्दा धेरै नेक्सा कन्ट्रक्सन एण्ड इञ्जिनियरिङ्ग सर्भिसेज ले २ सय २८ महिना अर्थात ७६ त्रैमासिकको विवरण पेश गरेको छैन । यसरी हेर्दा यो कम्पनीले १९ बर्षदेखि कर विवरण दाखिला नगरेको पाइन्छ । यसका अलवा अन्य ६ महिनादेखि करिव ६ बर्ष सम्म विवरण पेश नगरेका कम्पनी तथा फर्महरु समेत रहेको सेवा कार्यालयका प्रमुख निमेश पौडेलले बताए ।
कार्यालयले सूचना जारी गर्दै तोकिएको अवधिमा कर विवरण नबुझाएमा दर्ता निलम्बन गरी फर्म रोक्का राखेर कार्बाही प्रक्रिया अघि बढाउन सकिने चेतावनी दिएको छ । कार्यालयले समयमा मुल्य अभिबृद्धि कर नबुझाउने फर्म तथा कम्पनीलाई मुअक ऐन २०८२ को दफा १७ को उप दफा ८ बमोजिम कार्बाही गरिने व्यहोरा उल्लेख छ । उक्त दफा अनुसार ६ महिना सम्म कर विवरण नबुझाउने फर्म तथा कम्पनीको कर कट्टि गर्नुपर्ने रकम भए रोक्का राख्ने र दर्ता निलम्बन गर्न सकिने कानूनी व्यवस्था छ ।








