पर्वत १२ बैशाख : कुश्मा नगरपालिका पशुसेवा शाखाको अगुवाईमा नियमित अनुगमन भएपछि पर्वतको कुश्मा बजारमा मासु व्यवसायमा सकरात्मक सुधार देखिएको छ । शाखाले कुश्मा बजार भित्रको मासु व्यवसायलाई व्यवस्थित तथा स्वस्थकर बनाउने अभिप्रायका साथ अनुगमन कार्यलाई नियमित गरेपछि अहिले मासु व्यवसाय सुधारोन्मुख भएको हो ।
शाखाले जिल्ला प्रशासन कार्यालय पर्वतका अनुगमन अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, पशु सेवा विज्ञ केन्द्रका प्रमुख लगायत प्रहरी, सञ्चारकर्मी र व्यवसायका प्रतिनिधिहरु सहितको सहभागितामा त्रैमासिक रुपमा अनुगमन कार्य गर्दै आएको छ । विहिबार मात्रै कुश्मा बजारका २० भन्दा बढी मासु व्यवसाय अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अघिल्लो अनुगमनको तुलनामा मासु व्यवसाय उपभोक्ताहरुको हितअनुकुल सुधारोन्मुख देखिएको हो ।
कतिपय व्यवसायीहरुले नियमित व्यवसाय दर्ता तथा नविकरणमा ध्यान नदिएको, करको दायरामा नआएको, विक्रि वितरण विल जारी नगरेको लगायतका समस्याहरु देखिएपनि उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल हुने गरी मासु विक्रिवितरण गरेको नपाइएको शाखाका प्रमुख डाक्टर रुपक कँडेलले बताउनुभयो । कतिपय व्यवसायीहरुले सामान्य गुजारा चलाउनका लागि पनि व्यवसाय सञ्चालन गरेको पाइएकाले ती व्यवसायीहरुलाई व्यवस्थित स्थल बनाएर मात्रै मासु व्यवसाय सञ्चालन गर्न सात देखि १ महिना सम्मको समयावधि दिइएको उहाँले बताउनुभयो ।

कुश्मा बजारमा मात्रै झण्डै ५० देखि ६० सम्म मासु व्यवसाय सञ्चालनमा रहेका छन् । मासु व्यवसायीहरु संगठित नहुँदा विक्रि मुल्य सन्तुलित नभएको समेत पाइएको छ । बोइलर कुखुराको मासु कुश्माबजारमा ४ सय देखि प्रतिकेजी ४ सय ८० रुपैँया सम्म मुल्य असन्तुलित गरेको पाइएको थियो । अनुगमनकै क्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि. पौडेलले मासु व्यवसायीहरुलाई एकत्रित गरी संगठित बनाएर मुल्यमा सन्तुलन ल्याउने र स्वच्छ मासु विक्रि वितरण गर्नका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।









