पर्वत १५ पुस
पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरका ३५ बर्षिय प्रेमबहादुर नेपालीले रड प्रहार गरी १ जनाको ज्यान लिएका छन् भने एक जना घाइते भएका छन् । आज आइतबार तरुल निकाल्ने क्रममा विवाद हुँदा स्थानीय प्रेमबहादुर नेपालीले तरुल खन्नका लागि प्रयोग गरेको रड प्रहार गर्दा सोही स्थानका उदय रिजालको ज्यान लिएका हुन् ।
गम्भिर घाइते भएका रिजाललाई पर्वत अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । अस्पतालका चिकित्सक टोलीले अस्पतालमा ल्याउँदा वित्तिकै मृत घोषणा गरिएको डाक्टर सनम ढकालले बताउनुभयो ।
सोही विषयमा विवाद सुल्झाउन खोज्दा स्थानीय श्रीराम शर्मालाई समेत नेपालीले टाउकोमा रड प्रहार गरेपछि उनी गम्भिर घाइते भएका छन् घाइते शर्मालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
रडले प्रहार गर्ने नेपालीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप विवरण नआएको र विस्तृत रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक अभिनाशदिप जिसीले बताउनुभयो ।









