पर्वत, १७ असोज
निर्माणाधिन अवस्थामा रहेको कालीगण्डकी करिडोर अन्तर्गतको मालढुंगा बेनी सडक खण्ड पहिरोका कारण अबरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडक बुधबार विहानै देखि अबरुद्ध बनेको हो ।
केहि दिन देखिको निरन्तरको वर्षा सँगै पर्वतको जलजला गाउँपालिका वडा नं. ७ केरावारीमा पहाडवाट झरेको पहिरोले सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले पहिरो पन्छाउने काम समेत हुन नसकेको निउरेले बताउनुभयो ।
यस क्षेत्रमा अहिले पनि ठुलो वर्षा भैरहेको छ । पहिरो खस्न समेत रोकिएको छैन । वर्षा रोकिएलगत्तै सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी परिचालन गरिने उहाँले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीवाट छुटेका सवारीसाधन मिलनचोकमा अलपत्र बनेका छन् भने अन्यत्रवाट आएका सवारीसाधनहरु लस्तीबजारमा रोकिएका छन् । केहि साना सवारीसाधनहरु भने बागलुङतर्फवाट वैकिल्पक मार्गको प्रयोग गरी गन्तव्यतर्फ गईरहेको प्रहरीले जनाएको छ । विशेष गरी सोह्र श्राद्धको समयमा पितृ तर्पणका लागि मुस्ताङको कागबेनी हिडेका तिर्थालुहरु सडक समस्यामा परेका छन् ।
जिल्ला ट्राफिक कार्यालय पर्वतले सामाजिक सञ्जाल मार्फत निरन्तर बर्षा भइरहेकाले अत्यावश्यक काममा मात्रै सडकमा यात्रा गर्न सुझाव दिएको छ ।









