पर्वत १२ असोज
डाबर नेपाल प्रालिले उत्पादन गर्दै आएको रियल ब्रुस्र्ट जुस प्याकेजिङका क्रममा लापरबाही भएको पाइएको छ । पर्वतको कुश्मा बजार स्थित एक होटलमा नखोलिएको अवस्थामा भेटिएको जुसको बट्टा काटिएको र पुन गाँसेर कालो टेप लगाइएको अवस्थामा भेटिएको हो ।
होटल सञ्चालकले दिएको जानकारी अनुसार जुसको प्याकेट खोलेपछि सवै हेर्दा एउटा बट्टा उक्त अवस्थामा फेला परेको थियो । यसरी भेटिएको जुसको बट्टा भित्र करिव ३० प्रतिशत मात्रै पेय पदार्थ रहेको पाइन्छ । जुस सेवनका लागि राखिएको एस्ट्रो समेत जुसकै बट्टामा अन्य सरह राखिएको पाइएको छ ।
उक्त विषयमा उत्पादक कम्पनीका सेल्स म्यानेजर एकराज आचार्यलाई सम्पर्क गर्दा आचार्यले कम्पनीको तर्फबाट त्यस्तो गल्ती हुन नसक्ने दावी गर्नुभयो । उहाँले जुस प्रत्यक्ष रुपमा कुन अवस्थामा छ भन्ने देखेपछि मात्रै आफुले सवै कुरा भन्न सक्ने बताउनुभयो । कामको शिलशिलामा आफु बाहिर रहेको बताउने आचार्यले आफु केही हप्तामा आएपछि मात्रै जुसको बारेमा जानकारी दिन सक्ने बताउनुभयो ।
उक्त पेय पदार्थ अखाद्य जस्तो देखिएपछि पर्वत जिल्लामा कार्यरत इन्सेक प्रतिनिधि सन्तोष थापाले उक्त सामग्री खरिद गरी कम्पनीलाई कार्बाहीको माग गरी जिल्ला प्रशासन कार्यालय पर्वतमा बुझाउनुभएको थियो । जिल्ला अनुगमन समितिका संयोजक समेत रहेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले उपभोक्ताका अधिकार प्रति कसैले पनि खेलबाड गर्न नहुने भन्दै पेयपदार्थको बारेमा यथार्थ विवरण संकलन गरी खाद्य तथा गुण नियन्त्रक कार्यालयको समन्वयमा कार्बाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।
रियल ब्रस्ट जुसकाे लापरबाही – YouTube









