पर्वत, ३ असोज
पर्वत जिल्ला कारागारमा रहेका १० जना कैदीको सजाय कट्टि भएको छ । संविधान दिवस २०८० को अवसरमा नेपाल सरकारले राष्ट्रपतिको सिफारिसमा १० जना कैदीको कैद कट्टि सँगै माफी मिनाहा गरेको हो ।
पर्वत कारागारका सुचना अधिकारी सुमन गौडेलले दिएको जानकारी अनुसार पर्वत कारागारमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका ९ जना कैदीको ५० प्रतिशत र १ जना ४० प्रतिशत सजाय भुक्तान गरेका कैदीको सजाय कट्टि भएको जानकारी दिनुभयो ।
जस अनुसार कुटपिट तथा अंगभंग कसुरका राजन राना, हातहतियार खरखजनाका वीरबहादुर गुरुङ र बमबहादुर क्षेत्री, ज्यान मार्ने उद्योगका कृष्णबहादुर नेपाली, नकवजनी चोरीका भिमबहादुर घर्ती क्षेत्री र शंकर क्षेत्री, मोटरसाइकल चोरी कसुरका अशोक नेपाली र सागर नेपाली, डाँका चोरी कसुरका सागर सापकोटा गरी ९ जना कैदीले ५० प्रतिशत कैद भुक्तानी गरेका कारण बाँकी कैद मिनाहा पाएका छन् भने ४० प्रतिशत कैद कट्टि गरेका डिलबहादुर नेपालीले ज्यान मार्ने उद्योग कसुरको कैद मिनाहा पाएका छन् ।
कारागारले दिएको जानकारी अनुसार पर्वतमा कारागार प्रमुख जेलर र प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यको सिफारिसमा १३ जनाको कैद तथा सजाय कट्टिका लागि अनुरोध भएपछि १० जनाको मात्रै स्वीकृत भई आएको थियो ।
२५ जनाको क्षमता रहेको पर्वत जिल्ला कारागारमा अहिले ९५ पुरुष र ४ महिला गरी ९९ कैदी बन्दी रहेका छन् ।







