पर्वत २ असोज ः अन्तराष्ट्रिय स्तरमा छरिएर रहेका पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाज चौथो अधिवेशनको तयारीमा जुटेकोे छ । जिल्लाको पैयुँ र मोदी गाउँपालिकामा दोस्रो र तेस्रो अधिवेशन सम्पन्न गरेको समाजले आफ्नो चौथो अधिवेशन पर्वतको जलजला गाउँपालिकामा असोज २७ गते शनिबारका दिन गर्न लागेको हो ।
समाजले जलजला गाउँपालिकाको व्यवस्थापन सहयोगमा माझफाँटको पौराणिक स्थल मल्लाज दरवारमा अधिवेशन गर्न लागेको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले जानकारी दिनुभयो । असोजको २७ अर्थात १४ अक्टुवार २०२३ मा अन्तराष्ट्रिय पर्वत समाजका पदाधिकारी सहित समाजका सदस्य संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मल्लाज दरवारमा अधिवेशन हुदैछ । पर्यटकीय दृष्टिकोणले समेत परिचित मल्लाज दरवारमा कार्यक्रम सञ्चालन गरेपछि थप पर्यटनमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । अन्तराष्ट्रिय पर्वत समाजको अनुरोधमा पालिकाले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
समाजका महासचिव मणीप्रसाद भुर्तेलले पत्राचारको काम तिब्र रुपमा अघि बढिरहेको समेत बताउनुभयो । उहाँले अधिवेशनमा संस्थाका सम्पूणर् आजिवन सदस्य, कार्य समिति सदस्य, संरक्षक, सल्लाहकार, सदस्य संस्था एवम् कार्य समिति सदस्य र विश्वभरी छरिएर रहनु भएका पर्वतेदाजुभाई तथा दिदिबहिनीहरु लाई उपस्थिति गराउने गरी पत्राचार गरिएको र सूचना प्रदान गरिएको समेत जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय पर्वत समाजले अधिवेशनको तयारीका लागि आर्थिक समिति संयोजक रूद्र लम्साल,ब्यबस्थापन समिति संयोजक मुना भुषाल ,प्रचार प्रसार समिति संयोजक मणि भुर्तेल सदस्यता बितरण समितिमा पर्शुराम पौडेल लगायत बिभिन्न समिति बनाइएको छ । प्रमुख अतिथि लगायत विविध विषयमा बैठक बसी छिट्टै निणर्ण गर्ने महासचिव मणि भुर्तेलले जानकारी दिनुभयो ।
एनआरएनएको निर्वाचन नजिकिँदै गर्दा अन्तराष्ट्रिय पर्वत समाजको यो अबिधेशनलाई समेत महत्वका साथ हेरिएको छ । अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले अधिवेशनलाई भव्य र सभ्य बनाउन जिल्ला स्थित सञ्चारकर्मी, जनप्रतिनिधि लगायत सरोकारवाला सवैलाई सहयोगका लागि आह्वान समेत गर्नुभएको छ ।
अन्तराष्ट्रिय पर्वत समाज पर्वत जिल्लाको समृद्धि र विकासमा काम गर्ने उद्देश्यले पर्वत जिल्लामा जन्मिएर विश्वभर छरिएर रहेका पर्वतेहरुको साझा संस्था हो । संस्थाको अधिवेशनमा ३३ भन्दा बढि देशका पर्वतेलीहरुको प्रतिनिधिमुलक उपस्थिति रहने महासचिव मणी भुर्तेलले जानकारी दिनुभयो ।









