पर्वत, ३२ साउन
पर्वत स्पोर्टस् हाउस कुश्माको आयोजना तथा मोदीकाली व्याडमिण्टन संघ पर्वतको समन्वयमा पर्वतमा खुल्ला तथा सि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।
पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल वडागाँउ कुश्मामा आगामी भाद्र ८ र ९ गते उक्त खेल सञ्चालन हुने भएको हो । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने मुल नारा सहित हुने प्रतियोगतामा जिल्ला खेलकुद विकास समिति पर्वत, पर्वत मोदीकाली ब्याडमिन्टन संघ कुश्माको संयोजन रहेको छ । खुला ब्याडमिन्टन तर्फ नेपालका २० रेङकिङ भित्रका खेलाडी बाहेकका खेलाडीहरु प्रतियोगितामा सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरिएको खेल संयोजक सुनिल थापाले जानकारी दिनुभयो । सि लेभल ब्याडमिन्टनतर्फ साविकको धौलागिरी अञ्चल भित्रका खेलाडी र पर्वत मोदीकाली ब्याडमिन्टन संघका आजीवन सदस्य रही देश भरि रहेका सदस्यहरुले समेत सहभागि हुन पाउने साथै टिम दर्ता भाद्र ७ गते हुने आयोजक पर्वत स्पोर्टस हाउसका प्रोपाईटर जगदिश सुवेदीले जानकारी दिनुभयो ।
ब्याडमिन्टन खेलको विकास तथा विस्तार र नयाँ प्रतिभाशाली खेलाडी उत्पादन एवम् कुश्माको पर्यटन क्षेत्रको विकासको लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगताको खुला तर्फ प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार र तृतीय पुरस्कार रु १० हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने सि लेभल तर्फ प्रथम पुरस्कार रु २० हजार, द्वितीय पुरस्कार रु १० हजार र तृतीय पुरस्कार रु ६ हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको खेल संयोजक थापाले जानकारी दिनुभयो ।
प्रतियोगितालाई पर्वतको पर्यटन सँग समेत जोड्ने गरी खुला र सि लेभल तर्फ प्रथम हुने जोडीलाई हार्नेस जीपलाईन प्रालि कुश्माको तर्फबाट क्लासिक जीपलाईन निः शुल्क गराईदिने हार्नेस जीपलाईन प्रालिका संचालक सुनिल बानियाँले बताउनुभयो ।
खेलाडीहरुको सुविधाको मध्यनजर राख्दै विहानको खाना कभर्डहलमा आयोजकले व्यवस्था गर्ने र सबै खेलाडीहरुलाई उक्त खेल खेल्न आह्वान गरिएको खेल संयोजक एवम् पर्वत मोदीकाली ब्याडमिन्टन संघ कुश्माका कोषाध्यक्ष राम पुनले बताउनुभयो । प्रतियोगितामा देश भरबाट खेलाडीहरु सहभागिताको लागि अनुरोध गर्दै प्रतियोगिता सफल बनाउने तयारी भइरहेको पुनले जानकारी दिनुभयो ।









