पर्वत १६ फागुन
नेकपा एमाले र माओवादी सहितको सत्ता गठबन्धनमा समस्या उत्पन्न भए सँगै नेकपा एमालले सोमबार सरकारबाट बाहिरिने निणर्य गरेको छ । माओवादी केन्द्रले एमाले सँग गरेको पुर्व सम्झौता पालना नगरी नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सघाउने निणर्य गरेपछि एमालेले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको हो ।
वर्तमान सरकारमा नेकपा एमालेका तर्फबाट पर्वत जिल्लाले समेत पहिलो पटक क्याविनेट मन्त्री प्राप्त गरेको थियो । प्रतिनिधि सभा सदस्य पदम गिरीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्राप्त गरेसँगै पर्वत जिल्लाको स्वास्थ्य क्षेत्र लगायत अन्य विविध क्षेत्रमा समेत विकास हुने अपेक्षा गरेका पर्वतबासीहरुले ४२ दिन मात्रै मन्त्रीको जिल्लाको रुपमा उपमा पाए । सरकारबाट राजिनामा दिए सँगै स्वास्थ्य मन्त्री गिरीले सामाजिक सञ्जाल मार्फत पर्वतबासी लगायत मन्त्री बन्नका लागि सहयोग गर्न सवै समक्ष कृतज्ञता व्यक्त गरेका छन् । मन्त्री गिरीले राजनीतिलाई अस्थिरता तर्फ धकेल्ने प्रबृत्ति र पात्रका विरुद्ध आफु सरकार बाहिर बसेर लडिरहने समेत बताएका छन् ।
मन्त्री गिरीले सामाजिक सञ्जालमा लेखेको प्रतिक्रिया जस्ताको त्यस्तै
आदरणीय आमा बुवा दाजुभाई तथा दिदीवहिनीहरु,
संघीय गणतन्त्र स्थापना पश्चात् भएको दोस्रो आम निर्वाचनमा पर्वत जिल्लाबाट दोस्रोपटक प्रतिनिधि सभामा निर्वाचित भई वर्तमान सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हाल्ने महत्वपूर्ण अवसर प्राप्त गरेको थिएँ ।
मेरो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष कमरेड केपि शर्मा ओलिज्यु लगाएत मेरा अग्रज नेताज्युहरु, पर्बतेली मेरा आम मतदाताज्युहरु, नेपाली जनता र आम कार्यकर्ताहरुको सद्भाव र सहयोगका कारण मैले छोटो अवधि (जम्मा ४२ दिन )नैभए पनि यो जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे । यसका लागी उहाँ हरुप्रती हार्दिक आभार ब्यक्त गर्द्छु।
यो अवधीमा मलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने तत्कालीन राज्यमन्त्री तोसिमा कार्की , मन्त्रालयका सचिवज्युहरु ,महानिर्देशक ज्युहरु लगायत सबै कर्मचारी मित्रहरु,मेरो सचिवालका सवै टिम, शुभेच्छुक, सल्लाहकार,सन्चारकर्मी साथिहरु सबैको सहयोग र सद्भावका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।
समस्याग्रस्त नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गरी सवै नेपाली नागरिकलाई शुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने एकमात्र पबित्र उद्देश्य बोकेर शुरुवात भएकोे स्वास्थ्य मन्त्रीको यात्रा राजनीतिक परिस्थिति फेरिएका कारण अहिलेको लागि यहिँ रोकिएको छ ।
छोटो अवधिमा स्वास्थ्य मन्त्रालय, यसका कार्यगत संरचनाहरुमा नीतिगत र कानूनी पक्षहरुको सुधारको लागि आवश्यक कार्ययोजना बनाउँने महत्वपूर्ण अभ्यासको मैले शुरुवात गरेको थिएँ । मलाई विश्वास थियो केहि महिनामै नेपालको स्वास्थ्य क्षेत्रमा सुधारको उल्लेख्य कामहरु हुनेछन् र जनताले गुणस्तरीय सेवा पाउने कामको थालनी हुनेछ, तर छोटो अवधिमै स्वास्थ्य मन्त्रालयबाट विदा हुने देशको राजनैतिक परिस्थितीका कारण यी कामहरु अधुरा र बाँकी रहेका छन् । मैले स्वास्थ्य क्षेत्र भित्र न्युनतम स्वास्थ्य सेवा मापदण्ड कार्यान्वयन गर्न अस्पतालको सेवा सुधार, पुर्वाधार बिकास, स्वास्थ्य बिमा लाई प्रभावकारी बनाउने, सातै प्रदेस बाट बिशिस्टिकृत सेवा , अत्यावश्यक औषधि को उत्पादन , आधारभुत अस्पताल को निर्माण सम्पन्न गरि स्थानिय तहमा नै अस्पताल बाट सेवा सुरु गर्ने, पारदर्शिता र शुसासन कायम गर्ने आदि बिषयमा अध्ययन एवं एक्सनको थालनी भएको थियो । हाललाई यी हाम्रा कामहरु अधुरो हुन पुगेका छन । तथापी मेरो ठाउँ बाट स्वास्थ्य क्षेत्रको सुधारको लागी निरन्तर प्रभावकारी भुमिका खेलिरहने छु ।
अन्त्यमा मन्त्रीको रुपमा काम गर्दा मलाई सहयोग गर्ने विषयगत मन्त्रीज्यूहरु लगाएत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुमा हार्दिक धन्यवाद र आभार ब्यक्त गर्दछु ।
नेपाली राजनीतिलाई अस्थिर,अविश्वसनीय र अनैतिक खेलको मैदान बनाउने प्रवृतिविरुद्ध सरकारबाहिर रहेर पनि एक राजनीतिक कार्यकर्ता तथा जनताको प्रतिनिधिको रुपमा सदैब लडिरहने प्रण समेत गर्दछु् । र जिबनभर आम नेपाली जनताको सेवामा निरन्तर समर्पित रहने छु।
२०७९/११/१५
पदम गिरी
मन्त्री
स्वास्थ्य तथा जनसंख्या