पर्वत, १३ फागुन
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा नकरात्मक असर परेको बताउनुभएको छ । अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
पर्वत उद्योग वाणिज्य संघको ४० औं स्थापना दिवस तथा ४७ आंै वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले मुलुक विषम परिस्थितिमा रहेकाले राज्य, नीजि क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र सवैले अर्थतन्त्रलाई उकास्नका लागि एक भएर लाग्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा ढकालले अर्थतन्त्रलाई व्यवस्थित गर्न र समृद्धि उन्मुख विकासका लागि मुख्यत पर्यटन विकासमा विशेष जोड दिनुपर्ने बताउँदै पछिल्लो समय पर्वतमा भइरहेका पर्यटन सम्बद्ध पुर्वाधारका लागि नीजि क्षेत्रले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य गुणाखर बस्याल, प्रदेश सभा सदस्य रेखा गुरुङ, जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, गण्डकी उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जिव कोइराला, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, अमृत भट्टचन, कुविर कुमार श्रेष्ठ, पर्वत उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संघ संस्थाको तर्फबाट गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्मा र छिमेकी उद्योग बाणिज्य संघको तर्फबाट म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने बरिष्ठ उपाध्यक्ष ठाकुर वि पौडेलले स्वागत र महासचिव रमेश लामिछानेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
साधारणसभाले महासचिव रमेश शर्मा लामिछाने र कोषाध्यक्ष नारायण पौडेलद्वारा प्रस्तुत सांगठनिक तथा आर्थिक प्रतिबेदन पारित गर्नुका साथै पुर्व कोषाध्यक्ष चन्द्रबहादुर क्षेत्रीको मृत्युमा शोक प्रस्ताव पारित गरेको थियो ।







