वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘दाल भात तरकारी’ले आफ्नो प्रदर्शन मिति एक हप्ता पछि सारिएको छ ।
चलचित्रका प्रस्तुतकर्ता किरण केसीले टेक्निकल काम नसकिएकाले प्रदर्शन मिति एक साता पछाडि सरिएको बताए । उनले भने, ‘हाम्रो टेक्निकल कामहरु सकिएको छैन । त्यसैले हामी एक साता पछाडि सरेका हौं ।’ चलचित्र बैशाखको २० गते रिलिज हुनेछ ।
वैशाख १३ गते नै हलिउडको प्रतिक्षित चलचित्र ‘एभेन्जरस् इन्ड गेम’ रिलिज हुने पक्का छ । यसै चलचित्रको कारण दाल भात तरकारीले आफ्नो रिलिज मितिलाई पछाडि सारेको चर्चा पनि भएको छ ।
तर, प्रस्तुतकर्ता केसी भने उक्त कुरालाई मान्न तयार छैनन् । अनलाइनखबरको कुराकानीमा उनले भने, ‘हामी त्यो चलचित्रसँग डराएर पछाडि सरेका होइनौं । हामी आफ्नो समस्या भएर सरेका हौं । नेपालमा बसेर नेपाली चलचित्र रिलिज गर्दा किन अरुसँग डराउने ?’
सुदन केसीको निर्देशनमा बनेको यस चलचित्रमा अब मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, अनुराग कुँवर, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतको अभिनय रहेको छ ।
मह सञ्चारको व्यानरमा निर्माण भएको यस चलचित्रमा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्रको सार्वजनिक पहिलो गीत ‘भिजिट भिसामा’लाई युट्युबमा एक करोड भन्दा धेरैले हेरिसकेका छन् । दोस्रो गीत शुक्रबार रिलिज हुदैछ ।









