पर्वत, २६ मङ्सिर ः
जिल्ला ट्राफिक कार्यालय पर्वतको प्रमुख पदमा कार्यरत प्रहरी नायव निरीक्षक सुमन निउरेलाई कार्तिक महिनाको उत्कृष्ठ प्रहरी सम्मान प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी कर्मचारीहरुको जनताको सेवा प्रति काम गर्ने लगाव र मनोबल बढाउनका लागि शुरु गरेको सम्मान अभियान अन्तर्गत निउरेलाई कार्तिक महिनाको उत्कृष्ठ प्रहरी सम्मान प्रदान गरिएको हो ।
पछिल्लो समय पर्वत सदरमुकाम कुश्मा बजार लगायत जिल्ला भर ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गरेको र सदरमुकामका भित्रि सडकहरुमा जेब्रा क्रसिङ बनाउने कार्यसँगै बसपार्कलाई अस्थायी रुपमा व्यवस्थित गरी सञ्चालनमा ल्याएको भन्दै उनलाई सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले निउरेलाई सम्मान प्रदान गर्दै कार्यक्षेत्रमा थप लगनशिल र इमान्दार भएर लाग्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सम्मान ग्रहण पश्चात् निउरेले कार्यक्षेत्रमा अझै कर्तव्य निष्ठ भएर लाग्न आफुलाई थप प्रेरणा र उत्साह मिलेको बताउनुभयो ।








