पर्वत, १४ मंसिर
पर्वतको फलेवास नगरपालिका अन्तर्गतका विभिन्न ७ विद्यालयका झण्डै २ सय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सोडेक नेपाल पर्वतले एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत उक्त सामग्री प्रदान गरेको हो ।
झण्डै एक दशक देखि पर्वतमा शिक्षा तथा उद्यमशिलताका क्षेत्रमा काम गर्दै आएको गुडनेवर्स इन्टरनेशनलले यो बर्ष फलेवास नगरपालिका अन्तर्गत वडा नं. १ कार्किनेटाका ३ विद्यालय र फलेवास नगरपालिका ९ भंगराका ४ विद्यालय गरी सात विद्यालयका १ सय ८३ जना बालबालिकालाई शैक्षिक सामग्री सँगै विद्यालय पोशाक उपलब्ध गराएको हो ।
केही दिन अघि भंगरामा एक कार्यक्रमको आयोजना गरी ९० जना बालबालिकालाई उक्त सामग्री उपलब्ध गराइएको हो भने बुधबार कार्कीनेटामा एक कार्यक्रमको आयोजना गरी ९३ जना बालबालिकालाई सामग्री प्रदान गरिएको सोडेक नेपाल एकिकृत सामुदायिक विकास परियोजनाका शिक्षा तथा संरक्षण अधिकृत ऋषिराम भूसालले जानकारी दिनुभयो । परियोजनाले पर्वतका विभिन्न २७ विद्यालयका १ हजार १ सय ७० बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री सँगै पोशाक र स्वास्थ्य परीक्षण कार्यक्रम समेत सञ्चालन हुँदै आएको भूसालले जानकारी दिनुभयो । भूसालका अनुसार मोदी गाउँपालिका र कुश्मा नगरपालिकाका केही विद्यालयमा समेत उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । कतिपय विद्यालयहरुमा शैक्षिक गुणस्तरका लागि पुर्वाधार निर्माण समेत दिएको र विद्यालयमा आधुनिक प्रविधि सहितको पठन पाठनका लागि सहयोग गरेको सोडेक नेपालका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । तिमिल्सिनाले आफुहरु निस्वार्थ भावले बालबालिकाको हितमा काम गरिरहेको बताउँदै बालबालिकालाई नियमित विद्यालय आउने जाने वातावरण सिर्जना गर्न र स्वास्थ्य सरसफाईमा ध्यान दिन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
फलेवास नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं नगर शिक्षा अधिकृत कृष्ण आचार्यले बालबालिका र विद्यालयको शैक्षिक गुणस्तर विकासको क्षेत्रमा फलेवास नगरपालिकाले धेरै कार्ययोजनाहरु अघि सारेको बताउँदै गुडनेवर्स इन्टरनेशनल र सोडेक नेपालले शिक्षाको क्षेत्रलाई सुधार गर्नका लागि महत्वपूणर् भूमिका निर्वाह गरेको बताउनुभयो । परियोजना अन्तर्गत मोदी गाउँपालिका लगायत अन्य बाँकी विद्यालयका विद्यार्थीहरुलाई क्रमश सामग्री वितरण गर्ने कार्यक्रम रहेको भूसालले जानकारी दिनुभयो ।







