पर्वत, १५ कार्तिक
निर्वाचन आयोगले नेपाली काँग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको छ । जोशी सहित विभिन्न क्षेत्रका ६ जनालाई आयोगले मंगलबार स्पष्टीकरण सोधेको हो ।
जोशीले कुश्मा नगरपालिका-१४ आर्थरस्थित विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीहरूलाई कपि कलम वितरण गरेर अभिभावकहरूलाई प्रभावित गर्न कोशिस गरेको भन्ने समेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ ।
निर्वाचन आयोगले पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश सापकोटालाई समेत सोही विषयमा स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण पत्रमा भनिएको छ- ‘त्यस विद्यालयमा पुरस्कार स्वरुप कपि कलम वितरण भएको बारे के कसो भएको हो ? निर्वाचन आचारसंहिताको विपरीत हुने गरी विद्यालयमा किन कार्यक्रम आयोजना गर्नुभएको हो ?’ यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण पेश निर्देशन दिइएको छ ।
त्यस्तै आयोगले पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ का अध्यक्ष राम शर्मा लामिछानेलाई आफू बहाल रहेको स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ ।
लामिछानेलाई आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचन सम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने समेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी २४ घण्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिताको दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको छ ।
‘तपाईं कुश्मा नगरपालिका वडा नं. ९ को वडाध्यक्ष तथा स्थानीय कार्यपालिकाको सदस्य रहेको व्यक्ति कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने देखिन्छ । उल्लेखित सन्दर्भमा तपाईं निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी नेपाली काँग्रेसका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको होइन भन्ने आधार प्रमाण के छ ?’ आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंले आफू आफू स्थानीय कार्यपालिकाको सदस्य रहेको नगरपालिकाभित्र राजनीतिक दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिबाना किन गर्नु नपर्ने हो ?’
त्यस्तै
निर्वाचन आयोगले पर्वतको कुश्मा नगरपालिकास्थित नारायण माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण सोधेको छ । आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचन सम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने समेत व्यहोराको आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन । आचारसंहिताको सो दफाको खण्ड (ख) अनुसार निजहरुले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन हुँदैन । आचारसंहिताको दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था छ ।
सुवेदीलाई २४ घण्टाभित्र निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय, पर्वतमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत चित्तबुझ्दो आधार कारण उल्लेख गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।
त्यस्तै
निर्वाचन आयोगले पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यलाई आफू बहाल रहेको स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ ।
आचार्यलाई आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचन सम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने समेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी २४ घण्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्थाप्रति स्मरण गराउँदै आयोगले गाउँपालिकाको अध्यक्ष रहेको गाउँपालिकाभित्र राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने देखिएको पत्रमा उल्लेख छ ।
त्यस्तै
निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोग, पर्वतका अध्यक्ष उदय सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ ।
सुवेदीलाई आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने समेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।
निर्वाचन आचारसंहिताको दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था छ ।
स्रोत निर्वाचन आयोगको इबुलेटिनबाट









