पर्वत, ६ कार्तिक
देशभर यतिबेला चुनावी सरगर्मी बढिरहेको छ । मनोनयन दर्ता पश्चात् विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु घरदैलो अभियानमा निस्किएका छन् । यो माहोल पर्वतमा पनि शुरु भएको छ । विभिन्न राजनीतिक दलका प्रतिस्पर्धी उम्मेदवारहरु आ आफ्नो कार्यक्रम घोषणा गरेर मतदाता भेटघाटमा लागिपरेका छन् ।
विशेष गरी गठबन्धन र नेकपा एमालेको बलियो प्रतिस्पर्धा देखिएको पर्वतमा उम्मेदवारहरु मतदातालाई रिझाउन घरदैलोमा पुगेका छन् । कतिपय अवस्थामा घरमा नभेटिएका मतदातालाई कतै खेतबारी, खरबारी त कतै आरनमा पुगेर भेटेका छन् ।
यस अघि नेकपा एमालेबाट निर्वाचित सांसद पदम गिरी आसन्न निर्बाचनमा पनि प्रतिनिधिसभा सदस्य पदमा चुनावी मैदानमा उत्रिनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशीलाई झण्डै १३ हजार मतले पछाडि पार्दै २०७४ सालको निर्वाचनबाट विजयी भएका गिरी अहिले पुन जोशी सँगै प्रतिस्पर्धामा आउनुभएको हो । विहिबार घरदैलो प्रचारका क्रममा जलजला गाउँपालिकाको लेखफाँटमा पुग्नुभएका गिरीले आरनमा आफ्नो व्यवसाय गर्दै आउनुभएका सोम विकलाई मत दिन अनुरोध गर्दै भन्नुभयो ‘पुनः एकपटक मलाई जिताएर दुःखमा साथ दिने मौका दिनुहोस्’ गिरीले आफुले बनाएका योजनाहरु अधुरै रहेको बताउँदै ति अधुरा कामहरु पुरा गर्नका लागि आफुलाई मतदिन आग्रह गर्नुभयो ।

यता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितको गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा चुनावी मैदानमा होमिनुभएका नेपाली कांग्रेसका अर्जुन जोशी सहितको उम्मेदवार टोलीले जिल्लाको विकास र संविधानको रक्षार्थ गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै अभियानमा निस्किएको छ । गठबन्धनका उम्मेदवारले शुक्रबार पर्वतको पैञ्यु गाउँपालिका ५ भुर्तेलथोकमा घरदैलोका क्रममा खरबारीमा खर काट्दै गरेका मतदातालाई भेटेर आफुहरुलाई मत दिएर जिताउन अनुरोध गरेका थिए ।

मतदातालाई कामको चटारो थपिएको बेला घरमा भेट्न नसकेपछि उम्मेदवारहरु कृषकहरु भएकै स्थानमा पुगेर भेटघाट गर्दै आएका छन् । निर्वाचन आयोगले आचार संहितामा कडाई गरेपछि पहिलो चरणको कार्यक्रममा उम्मेदवारहरु सामान्य भेटघाटमा मात्रै निस्किएका छन् भने आयोगले लागु गरेको आचारसंहिता २०७९ अनुसार मतदान हुनुभन्दा १७ दिन अघि मात्रै भेला, सभा गरेर प्रचारप्रसार गर्न पाइने व्यवस्था रहेको छ ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पर्वतमा विभिन्न राजनीतिक दल र स्वतन्त्र सहित १२ जनाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् भने प्रदेश सभा १ तर्फ ९ र प्रदेश सभा २ तर्फ ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पर्वतमा मुख्यतः गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्ष्र्धा हुने देखिएको छ ।









