पर्वत ८ माघ ।
कोरोनाको तेश्रो लहरले च्पादै गइरहेका बेला पर्वतको सदरमुकाम कुश्माबजारमा भने बाजागाजा सहित तामझामका साथ विवाह भइरहेका छन् । शनिबार विहान पर्वत जेसिजद्वारा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रहरी प्रशासनले एक्सन लिएर पार्टी प्यालेसका सञ्चालकलाई नै पक्राउ गरेपनि बजार भित्र घर र मन्दिरमा भएका बाजागाजा सहितका विवाहलाई नियन्त्रण गर्न नसकेको भन्दै प्रशासन र प्रहरी माथि प्रश्न उठेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ गतेदेखि लागु हुने गरी पर्वतमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा अनुसार पार्टी प्यालेसलाई माघ १५ गतेसम्मका लागि पूणर् रुपमा बन्द गर्ने गरी आदेश जारी गरेको थियो । उक्त आदेश विपरित कार्य भएका कारण पार्टी प्यालेसका सञ्चालकलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो । बजार भित्र भइरहेका तामझाम सहितका विवाहका प्रसंगमा खत्रीले प्रहरी प्रशासनले मात्रै सवै थोक नियन्त्रण गर्न सक्छ भन्नु गलत भएको जिकिर गर्नुभयो । ‘सामाजिक चेतना स्तर बढाउनुपर्छ, यस्तो परिस्थितिमा समाजमा बस्ने हरेक नागरिकले सहयोग गर्नुपर्छ’ खत्रीले सवैले कोरोना नियन्त्रण अभियानमा आफ्नो भूमिका सम्झेर सक्रियता बढाउनुपर्ने बताउनुभयो ।
पर्वतमा शनिबार सम्म २ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये कुश्मा नगरपालिकामा मात्रै १ सय ३० जना संक्रमित रहेका छन् । संक्रमित सवै होम आइसोलेसनमा रहेको कोभिड फोकल पर्सन नारायण रेग्मीले जानकारी दिनुभयो । शनिबारको ३१ जनाको परीक्षणमा २१ जनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । भोलि ९ गतेदेखि पर्वत अस्पतालले आकस्मिक बाहेकका सवै सेवा जनशक्ति अभावमा बन्द गर्ने जानकारी दिएको छ ।







