पर्वत, १३ मंसिर
जिल्लामा क्रियाशिल महिला पत्रकारहरुको सञ्जाल सञ्चारिका समुहको तेश्रो अधिवेशन सम्पन्न भएको छ । समुहले नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशन उद्घाटनका क्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले महिला सञ्चारकर्मीहरुले क्रियाशिलतामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले संख्यात्मक रुपमा नभई व्यवहारिकता र कलमजिवीको मार्गमा महिला पत्रकारहरु अझै सक्रिय हुनुपर्ने बताउनुभयो । थापाले पर्वत जिल्लामा क्रियाशिल महिला सञ्चारकर्मीहरुलाई पत्रकारिताको क्षेत्रमा अग्रसर गराउनका लागि महिला सञ्चारकर्मीहरुलाई जुनसुकै सहयोग गर्न महासंघ तयार रहेको समेत बताउनुभएको थियो ।
सञ्चारिका समुह पर्वतका अध्यक्ष माया अधिकारीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले विष्णु गौतमको संयोजकत्वमा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शान्ति सुवेदी, सचिवमा संगिता केसी, कोषाध्यक्षमा कमला लामिछाने, सहसचिवमा मिना पराजुली र सदस्यहरुमा दुर्गा शर्मा, सन्तोषी क्षेत्री, सृजना शर्मा, मनिषा कार्की र लक्ष्मी पुनलाई चयन गरेको छ । समितिको संरक्षकमा इन्दिरा तिवारी (इन्दु) र रञ्जना खत्री रहेको निवर्तमान सचिव शान्ति सुवेदीले जानकारी दिनुभयो ।
यस अघि सञ्चारिका समुहले महिला सञ्चारकर्मीहरुलाई एकिकृत गरी जिल्लाको पर्यटन प्रबद्र्धन सँगै विभिन्न सकरात्मक कार्यहरु गर्दै आएको छ ।









