पर्वत, १९ भदौ
पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पर्वतको कुश्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा गएको पहिरोमा परेर एकै परिवारका ५ जना सहित ११ जनाको मृत्यु भएको हो ।
पर्वतको दुर्लुङ्गमा पहिरोमा परेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका-३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उहाँकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसैगरी कुश्मा-११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका-७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।
साथै कुश्मा-११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रायुश र मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेलको मृत्यु भएको हो । साथै पर्वतकै मोदी गाउँपालिका-५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ । सबै शबलाई पर्वत अस्पतालमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शिबराज बुढाथोकीले जानकारी दिनुभयो ।
त्यस्तै निरन्तरको बर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौ ठाउँमा पहिरो गएको छ । पर्वतको मोदी गाउँपालिकाको पातीचौर देखि कुस्माबजार सम्म दर्जनौ ठाउँमा ठुलाठुला पहिरो गएका कारण यातयात अबरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका ८ दोबिल्ला र चुवामा गएका पहिरो हटाउन हप्ता दिन लाग्न सक्ने अनुमान गरिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले बताउनुभयो ।
बाइट ःकृष्ण खड्का
मध्यपहाडी लोकमार्गको पर्वतको कुस्मा देखि पातीचौर सम्म सडक अबरुद्ध भएपछि पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गमा बाहिरी जिल्ला संगको सम्पर्क टुटेको छ । सडक अबरुद्ध हुँदा विशेष गरी विरामीहरुलाई पोखरा सम्म उपचारका लागि पुग्न समस्या भएको छ ।









