पर्वत, १७ वैशाख ।
कोभिड १९ को नयाँ भेरियन्ट सहितको संक्रमणबाट पर्वतको कुश्मा नगरपालिका स्थित कुश्मा बजार जोखिमयुक्त क्षेत्र भएको घोषणा गर्दै एक साताका लागि बन्द गर्ने निणर्य गरिएको छ । जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापनका लागि बनेको समितिको शुक्रबार बसेको बैठकले बैशाख १८ गते राति १२ बजेदेखि लागु हुने गरी बैशाख २५ गते सम्मका लागि बन्द गर्ने निणर्य गरेको हो ।
कुश्मा नगरपालिकाको अनुरोध अनुसार समितिले उक्त निणर्य गरेको सदस्य सचिव विमल गौतमले बताउनुभयो । नगरपालिकाले कुश्माको १,४,५,६,७,८ र ९ नं. वडा कार्यालय जोखिमयुक्त रहेको भन्दै लकडाउनका लागि अनुरोध गरेको थियो । समितिको बैठकले भने कुश्मा नगरपालिकाको बजार क्षेत्रमा रहेका वडा नं. ४, ५, ६ र ७ उच्च जोखिम भएको भन्दै १८ गतेदेखि लागु हुने गरी बन्द गर्ने निणर्य गरेको हो ।
बन्दका क्रममा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन निषेध गर्ने, एम्बुलेन्स, दम्कल, शबबहान, खाद्यसामग्री तथा पशुंपक्षीका दाना, तरकारी, फलफुल, दुध डेरी जन्य उत्पादन, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, सञ्चारकर्मी लगायतका अत्यावश्यक सवारीसाधनलाई परिचयपत्रका आधारमा स्वास्थ्य मापदण्ड अप्नाएर सञ्चालन गर्न दिने समेत निणर्य गरेको छ ।
बैठकले खाद्यसामग्री तथा अत्यावश्यक सेवाका पसलहरुलाई बैशाख १९ गते विहान देखि लागु हुने गरी विहान ७ बजेदेखि १० बजे सम्म र साँझ ४ देखि ७ बजेसम्म मात्रै सामाजिक दुरी कायम गरेर मात्रै सञ्चालनमा ल्याउने गरी निणर्य गरेको छ । औषधी जन्य पसलहरु भने पूणर् रुपमा सञ्चालनमा आउने भएका छन् ।
त्यस्तै मानिसहरुको भीडभाड नहोस् र ग्रामीण क्षेत्रमा समेत संक्रमण नफैलियोस् भन्ने उद्देश्यले कुश्माबजारबाट बाहिरिने र भित्रिने सवारी साधनहरु २५ गते सम्म सञ्चालनमा लागि रोक लगाएको छ ।
यस अघिका बैठकमा १५ जना भन्दा बढी कुनै पनि स्थानमा भेला हुन नपाउने र पार्टी प्यालेस्, कवर्डहल लगायतका बढी जमघट हुने स्थानहरु बन्द गर्ने निणर्य भएको थियो । पर्वतमा शुक्रबार दिउँसो सम्म ३४ जना कोभिड १९ का विरामीहरु सक्रिय रहेका छन् । विहिबार मात्रै ६ जनाको एटिजेण्ट परिक्षण गरिएकोमा ४ जना संक्रमित रहेको पाइएपछि यस्तो निणर्य भएको हो ।







