पर्वत, १४ माघ
सरकारले बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु गरेको छ । अभियानका क्रममा पर्वतमा पनि बुधबार पहिलोचरणको खोप अभियान सञ्चालन भएको छ । पहिलो प्राथमिकतामा राखेर स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायतका व्यक्तिहरुलाई खोप लगाउन आह्वान गरिएको हो ।
पहिलोचरणका कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिका कार्यक्षेत्र भएका ३५, पर्वत अस्पतालमा कार्यरत ८२, स्वास्थ्य कार्यालयमा कार्यरत १२ र शव व्यवस्थापनमा खटिएका चार जना सुरक्षाकर्मी गरी एक सय ३३ जनालाई बुधबार खोप लगाउने कार्य भइरहेको र दिउँसो ३ बजेको समय सम्म ६० जना भन्दा बढीले खोप लगाइसकेका छन् ।
पर्वतमा १४ माघदेखि १८ गते सम्म सञ्चालन हुने पहिलोचरणको अभियान अन्तर्गत जिल्ला भरका स्वास्थ्य संस्थामा कार्यरत एक हजार दुई सय ३१ स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप लगाउने तयारी गरिएको छ भने कोभिड १९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनका लागि खटिएका चार जना नेपाली सेनाका सुरक्षाकर्मीहरु गरी एक हजार दुई सय ३५ जनालाई पनि खोप दिने भएको छ ।

खोप अभियान अन्तर्गत पर्वतमा एक हजार तीन सय ८० डोज कोभिशिल्ड खोप पर्वतमा भित्रिएको छ । बुधबार जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर शिशिर देवकोटा र स्वास्थ्य कार्यालय प्रमुख भोजराज गौतमले पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ भएको थियो ।









