पर्वत , १७ मंसिर
बैदेशिक रोजगारीको शिलशिलामा पोर्तुगलमा ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरीका धनबहादुर क्षेत्रीको परिवारलाई प्रवासमा रहेका पर्वतेलीहरुले छुट्टाछुट्टै रुपमा सहयोग संकलन अभियान सञ्चालन गरेका छन् ।
अन्तराष्ट्रिय पर्वत समाज लगायत विभिन्न मुलुकमा गठित एनआरएनए र पोर्तुगलमा रहेका पर्वतेलीहरुले अभियान सञ्चालन गरेका हुन् । हालसम्म अन्तराष्ट्रिय पर्वत समाजले ५० हजार र पर्वत वेलफर सोसाइटी युकेका अध्यक्ष अप्सरा गुरुङ लगायतको सक्रियतामा संकलित रकम ५५ हजार ६ सय ५ सय रुपैँया पिडित परिवारको घरमा पुगेर प्रदान गरिएको छ भने पोर्तुगलमा रहेका पर्वतेली युवाहरु समुन्द्र पौडेल, रमेश महत लगायतको सक्रियतामा ३ लाख ५० हजार भन्दा बढी रकम मृतक क्षेत्रीकी पत्नी सरस्वती क्षेत्रीको खातामा पठाइएको अभियान्ता समुन्द्र पौडेलले जानकारी दिए ।
अन्तराष्ट्रिय पर्वत समाजले काजक्रियामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आठौँ दिनका दिन पुर्व बरिष्ठ उपाध्यक्ष परशुराम पौडेल, कोषाध्यक्ष तिलक सापकोटा लगायतको टोलीले घरमा नै पुगेर मृतक धनबहादुर क्षेत्रीका बाबु शेरबहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो । समाजका अध्यक्ष गुणराज पौडेलले पहिलो चरणमा अत्यावश्यक ठानेर उक्त रकम पठाएको र संकलन अभियान जारी रहेको बताउनुभयो । त्यस्तै युके वेलफर सोसाइटीका तर्फबाट संकलित रकम गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ र कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी लगायतको टोलीले सोही दिन घरमा नै पुगेर प्रदान गरिएको थियो ।
९ महिना अघि घर छाडेर प्रदेशिएका क्षेत्रीको यही मंसिर ८ गते आफ्नै सहपाठीको छुरा प्रहारबाट मृत्यु भएको थियो । स्याङजा जिल्ला घर भई हाल पोर्तुगलमा रहेका लोकेन्द्र गुरुङले आपसी झगडाका क्रममा छुरा प्रहार गरेका थिए । लामो समय सम्म अस्पतालमा उपचारका क्रममा रहेका धनबहादुरको मंसिर ८ गते मृत्यु भएको थियो ।
सामान्य परिवारमा जन्मिएका क्षेत्रीको परिवारमा ८० बर्षिय बाबु सहित श्रीमती, ३ छोरा र १ दुई बर्षीया छोरी रहेका छन् । मृतक क्षेत्रीकी पत्नी सरस्वती क्षेत्रीले सहयोग दाता समक्ष सहयोगको अपिल गरेकी छिन् ।







