पर्वत, ८ साउन
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार मध्यरातमा सकिएको अनलाइन मतदानमा गुरुङ कुल १ हजार ४७९ मत ल्याइ सन् २०२३-२५ कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष निर्वाचित गुरुङ तमुधिं यूके पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
उहाँका प्रतिस्पर्धी दिनेश घिमिरेले १२५४ र डा. नारायण कँडेलले ९०५ मत ल्याएको अनलाइन मतदान गर्ने कम्पनी ‘भेरो’ ले घोषणा गरेको हो । त्यस्तै स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्री विजयी हुनुभएको छ भने दुई उपाध्यक्षमा रविन्द्र कँडेल र सुरेश परियार तथा महासचिवमा गोविन्द खरेल निर्वाचित हुनुभएको छ । उपाध्यक्ष निर्वाचित रविन्द्र कँडेलले १४५६ र सुरेश परियारले १३१२ मत ल्याएर विजयी हुनुभएको हो । उपाध्यक्षका अन्य प्रतिष्पर्धी ज्ञानेन्द्र आलेले ८७८, कर्मा पहाडी शेर्पाले ८७६ र अमन गौचनले ४२९ मत ल्याएर पराजित हुनुभएको हो ।
स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्रीले १६१५ मत ल्याएर विजयी हुनुभयो भने उहाँसंग पराजित राम बगालेले १५३० मत ल्याउनुभएको थियो । महासचिवमा गोविन्द शर्मा खरेलले १५८१ मत ल्याउनुभएको छ भने भने उहाँका प्रतिद्वन्द्वी बालकृष्ण भुषालले १५३७ मत ल्याउनुभएको थियो ।
त्यसैगरी, सह-कोषाध्यक्षमा हेमकुमार गुरुङ र युवा संयोजकमा सुजित शाही निर्वाचित हुनुभएको छ । शाही पर्वतकै हुनुहुन्छ । आइसीसी सदस्यहरुमा चन्द्र गुरुङ, सुनिलबाबु खड्का, विष्णु चालिसे र दिलरस गुरुङ निर्वाचित हुनुभएको छ । चन्द्र गुरुङ पनि पर्वतकै चारभञ्ज्याङ क्षेत्रका हुनुहुन्छ ।
निर्वाचित पदाधिकारीले घोषणा सभा गरी नेपाली समुदायका व्यक्तिसँग नजिकिँदो सम्बन्ध स्थापित गरेर अगाडि बढ्ने र पछिल्लो समयमा देखिएको फुटको अवस्थालाई मध्यनजर गर्दै एकिकृत रुपमा अघि बढ्ने गरी योजना बनाउने नव निर्वाचित अध्यक्ष गुरुङले प्रतिबद्धता जनाउनुभयो ।







