पर्वत, १३ बैशाख । पर्वतमा एचआइभी संक्रमितको ग्राफ बढ्दै गएको छ । विगतका बर्षहरुमा जस्तै क्रमिक रुपमा संक्रमित खुल्न थालेपछि संक्रमितहरुको संख्यात्मक बृद्धि देखिएको हो ।
गत बर्षसम्म १ सय ६ जना संक्रमित रहेको पाइएकोमा अहिले चालु आर्थिक बर्षमा थप ४ जना संक्रमित थपिएका छन् । एचआइभी संक्रमितहरुको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको कम्युनिटी सपोर्ट ग्ू्रुपले दिएको जानकारी अनुसार पर्वतमा यस्तो तथ्याङक पाइएको हो ।
संस्थाका अनुसार पर्वतमा हाल सम्म १ सय १० जना संक्रमितहरु सम्पर्कमा आएका छन् । जस मध्ये ४८ जना पुरुष रहेका छन् भने ६२ जना महिला रहेका छन् । सोही अन्तर्गत १० जना १६ बर्ष भन्दा मुनिका संक्रमित बालबालिकाहरु रहेको संस्थाका पर्वत शाखा प्रमुख प्रेम केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार संस्थाले संक्रमितहरुलाई खुलेर आफ्ना समस्या राख्न सक्ने गरी सहयोग गर्दै आएको छ । संस्थाले यसरी देखिएका संक्रमितहरुलाई समय समयमा औषधी सेवन, स्वास्थ्य सेवा परामर्श, आयआर्जनमा सहयोग लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सन् २०२३ मा झण्डै २५ लाख बराबरको रकमबाट पर्वत भित्रका संक्रमितहरुका क्षेत्रमा काम गर्दै आइरहेको केसीले जानकारी दिनुभयो ।
पर्वत अस्पतालमा एचआइभी संक्रमितहरुका लागि एआरटी सेण्टर स्थापना भएसँगै संक्रमितहरु नियमित औषधी सेवन गर्दै आइरहेका छन् । पर्वत अस्पतालले दिएको जानकारी अनुसार हाल अहिले ७८ जना संक्रमितले एआरटी सेण्टर बाट सेवा लिँदै आएका छन् । सम्पर्कमा आएका संक्रमितहरु मध्ये कतिपय अन्य छिमेकी जिल्ला जस्तै बागलुङ, म्याग्दी, स्याङजा र कास्की जिल्लाका एआरटी सेण्टरहरुमा पायक पर्ने भएका कारण ती जिल्लाहरुबाट सेवा लिइरहेको जिल्ला अस्पताल पर्वतका डाक्टर दिलिप रेग्मीले बताउनुभयो ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आइरहेको संस्थाले गाउँ गाउँमा पुगेर स्थानीय तहहरुको समेत समन्वयमा जनचेतनामुलक कार्यहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले एचआइभी संक्रमित सँग सम्बन्धि कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकताको कार्यक्रम भएकाले जिल्ला स्थित सरोकारवाला निकायबाट यस तर्फ ध्यान दिनुपर्ने बताउनुभएको थियो । आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेल, कुश्मा नगरपालिका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र पौडेल लगायतले बोल्नुभएको थियो ।









