पर्वत, १३ फागुन
पर्वतको कुश्मा नगरपालिका ८ चुवामा पर्वत जिल्ला वडा स्तरीय भलिवल प्रतियोगिता संगै महिला दौड प्रतियोगिता शुरु भएको छ । चुवा यूवा क्लवले चुवाको चिनारी र खेलाडीको प्रोत्साहनका लागि शुक्रबार देखि प्रतियोगिता आयोजना गरेको हो । भलिवलमा १८ समूहले भाग लिन नाम दर्ता गराएका छन् भने महिला दौडमा १० जनाले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
बुधवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । जोशीले खेलकुदको माध्यम मार्फत गाउँको पहिचान हुने र खेलाडीहरुको प्रतिभा उजागर हुने भएकाले खेलकुदको विकासमा सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो । विश्वका विभिन्न मुलुकमा खेलकूद लाई सरकारले महत्व दिएपनि नेपालमा खेलकूद लाई वेवास्ता गरिएको जोशीले बताउनुभयो ।
उहाँले कुश्मा नगरपालिकामा विभिन्न खेलका लागि मैदान बनाउने योजना रहेकाले सार्वजनिक जग्गाको खोजि भैरहेको बताउनुभयो । जग्गाकै अभावमा मैदान बनाउन नसकिएको भन्दै जोशीले मैदानका लागि फराकिलो ठाउँ कहिँकतै भएमा नगरपालिकाले तुरुन्तै मैदान बनाउन लगानी खोज्ने उल्लेख गर्नुभयो । यद्यपी खेलमैदान र खेल अभ्यास अप्रर्याप्ताताका बाबजुत पनि खेलाडीहरुले राम्रो प्रस्तुती देखाएको भन्दै उहाँले खेलाडी लाई आभार व्यक्त गर्नुभयो । चुवा यूवा क्लवले भव्य कार्यक्रमको आयोजना गरेकोमा पनि जोशीले प्रसंसा गर्नुभएको थियो ।
उपप्रमुख स्वस्थानी रिजालले खेलाडी उत्पादन र खेलको विकासमा चुवा यूवा क्लवले खेलेको भूमिका महत्वपूणर् रहेको चर्चा गर्नुभएको थियो । नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुमानसिँह गुरुङले खेलकुदको विकासमा नगरपालिका संधै सकरात्मक रहेको बताउनुभएको थियो । वडाध्यक्ष सुरेन्द्र केसीले चुवामा सक्रिय चुवा यूवा क्लवले खेलकुद संगै सामाजिक विकृति, बिसंगति बिरुद्धको अभियान, स्वास्थ्य, शिक्षा एवं सामाजिक परिवर्तनका मुद्धामा काम गर्दै आएको भन्दै क्लवलाई सफलताको शुभकामना दिनुभयो । चुवा यूवा कलवका अध्यक्ष थमन विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अनिल विकले गर्नुभएको थियो ।









