पर्वत, ११ माघ
पुर्वाधार निर्माणका काममा निर्माण व्यवसायीले गुणस्तरहिन काम गरेकै कारण जुनसुकै संरचना लामो समय टिक्न नसकेका गुनासाहरु हामीले सुन्दै र भोग्दै आएका छौँ । तर निर्माणको समयमा उपभोक्ताहरुले देखाउनुपर्ने चासो कम भएकै कारण यस्तो समस्या आउने गर्दछन् । यही समस्यालाई दोहोरिन नदिनका लागि पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ का उपभोक्ताहरुले स्थानीय निर्माणाधिन योजनामा ‘लौरी पालो’ अभियान शुरु गरेका छन् । नेपाली परम्परागत प्रचलन अनुसार कुनै कुराको संरक्षण तथा रेखदेखका लागि लौरो लिएर आलोपालो रेखदेख गर्नुलाई लौरी पालो भनिन्छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा निर्माणाधिन हाइवेदेखि स्वास्थ्यचौकी नाली निर्माण योजनामा उपभोक्ताहरुले लौरी पालो लगाएर कामको अनुगमन गर्ने गरेका छन् । ३० लाखको लागतमा निर्माण शुरु भएको उक्त आयोजनालाई गुणस्तरीय बनाउन उपभोक्ताहरु जागरुक बनेका हुन् ।
स्थानीय उपभोक्ता लक्ष्मण पौडेलले दिएको जानकारी अनुसार स्थानीय राजनीतिक दल, समाजसेवी तथा प्रभावित उपभोक्ताहरुको सहमतिमा लौरी पालो अभियान सञ्चालन गरिएको हो । उहाँले दैनिक रुपमा ४ देखि ५ जना स्थानीय उपभोक्ताहरु निर्माण कार्य अनुगमन गर्ने गरेको बताउनुभयो । नाली निर्माणको काममा प्राविधिक नियम अनुसार गिट्टी, बालुवा र सिमेन्टको मात्रा मिलाएर मजदुरलाई काममा लगाउने गरी उपभोक्ताहरुले अनुगमन गर्ने गरेका छन् ।
गण्डकी प्रदेश सरकारको सहयोगमा पुर्वाधार विकास कार्यालय पर्वत मार्फत उक्त काम शुरु भएको हो । उपभोक्ताहरुले शुरुदेखि नै लौरी पालो लगाएर कामको अनुगमन तथा रेखदेख गर्न थालेपछि निर्माण कार्य गुणस्तर भएको अनुमान गरिएको छ । पुर्वाधार विकास कार्यालय मार्फत काम भएपनि प्राविधिक रुपमा समय समयमा अनुगमन नभएको स्थानीय कुलप्रसाद पोख्रेलले गुनासो गर्नुभयो । ‘यति ठुलो बजेटको काम भइरहँदा पुर्वाधार विकास कार्यालयबाट प्राविधिक सहित कामको परीक्षण हुनुपर्ने हो’ उहाँले भन्नुभयो ‘तर कामको गुणस्तर मापनका लागि उपभोक्ता खबर गरेपछि मात्रै आउने र फर्किने गर्छन्’ जुनसुकै निर्माणाधिन कार्य तथा योजना गुणस्तरयुक्त बनाउन स्थानीय उपभोक्ताहरु सजग हुनुपर्ने कुश्मा नगरपालिका पर्वतकी उपप्रमुख स्वस्थानी रिजाल बताउनुहुन्छ । ‘राज्यले विकास निर्माणका कार्यमा लगानी गर्छ तर उपभोक्ताहरु जागरुक नहुँदा गुणस्तरहिन काम बन्ने गरेका छन्’ उहाँले चुवाबासीहरुले गरेको कार्यको प्रशंसा गर्दै जुनसुकै विकास निर्माण कार्यमा उपभोक्ता ‘वाच डग’को भूमिकामा हुनुपर्ने बताउनुभयो ।







