पर्वत, ४ भदौ
पर्वतमा गठित लायन्स क्लव अफ पर्वत पिस कुश्माको आयोजनामा कुश्माबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अन्तराष्ट्रियको जीवन बचाउनका लागि सवैको सहकार्य भन्ने मुख्य उद्देश्य अनुरुप पर्वतमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
शनिबार आयोजित रक्तदान कार्यक्रममा २० जना व्यक्तिहरुले स्वतस्फुर्त रक्तदान गरेको क्लवका सचिव उत्तम पौडेलले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा कुश्माबजारका युवा तथा अन्यत्रबाट घुमफिरका लागि आएका आगन्तुकहरुले समेत रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी पर्वतले व्लड बैंकमा रगतको कमी हुन नदिन विभिन्न समुह तथा संगठनहरुलाई अनुरोध गर्दै रक्तदान कार्यक्रममा अग्रसर गराउँदै आएको छ । सोही अनुरुप क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
विगतका समयमा रक्तसञ्चार केन्द्र पोखराबाट प्राविधिक सहयोगका लागि आउनुपर्ने अवस्था भएपनि पछिल्ला समयमा भने नेपाल रेडक्रस सोसाइटी पर्वतमा नै प्राविधिक सहितको जनशक्ति भएपछि सहज भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै लायन्स क्लव अफ इन्टरनेशनल ३२५ के का डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर बसन्त कुमार कर्माचार्यले सामाजिक सेवामा समर्पण भावले नै क्लवको जन्म भएको र सोही अनुरुप गतिविधि गरेकोमा खुशी व्यक्त गर्दै थप सामाजिक कार्यमा लाग्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्र रिमाल, लायन्स क्लवका डिष्ट्रिक डिमार्टमेन्ट चिफ अर्जुन चापागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । क्लवका अध्यक्ष झलक बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लवका सचिव उत्तम पौडेलले गर्नुभएको थियो ।









