पर्वत, ५ जेठ
हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पर्वतमा ४ जना उम्मेदवारले १/२ मतान्तरले वडाअध्यक्षमा विजयी हात पारेका छन् । पर्वतको फलेवास नगरपालिका र मोदी गाउँपालिकाका २/२ जना वडाअध्यक्षका उम्मेदवारले १/२ मतान्तरले निर्वाचन जितेका हुन् ।
जस अनुसार पर्वतको फलेवास नगरपालिका १ कार्किनेटाको वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका चोलाकान्त पाध्यायले नेकपा एमालेका दिर्घनारायण शर्मालाई १ मतले पछि पार्दै वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचित पाध्यायले ६१० मत प्राप्त गर्नुभएको थियो भने पराजित उम्मेदवार नेकपा एमालेका दिर्घनारायण शर्माले ६०९ मत प्राप्त गर्नु भएको छ ।
त्यसै गरी फलेवास नगरपालिकाकै वडा नं. २ थापाठानामा नेकपा एमालेका गंगानारायण श्रेष्ठले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका पूणर्बहादुर भण्डारीलाई २ मतले पछि पार्दै वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले ८६२ मत प्राप्त गर्नुभयो भने भण्डारीले ८६० मत प्राप्त गर्नुभएको थियो ।
मोदी गाउँपालिकाको वडा नं. ५ र ६ मा पनि नेपाली कांग्रेसका उम्मेदवारहरुले नेकपा एमालेका उम्मेदवारलाई २ मतले पछि पार्दै वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । मोदी ५ बाजुङमा नेपाली कांग्रेसका मानबहादुर अधिकारीले १११४ मत प्राप्त गर्नु भयो भने उहाँका प्रतिद्वन्दी नेकपा एमालेका तेजबहादुर क्षेत्रीले १११२ मत प्राप्त गर्नुभयो । वडा नं. ६ मा नेपाली कांग्रेसका दिपेन्द्रजंग लामिछानेले १०९३ मत प्राप्त गरी प्रतिद्वन्दी नेकपा एमालेका नन्दलाल सुवेदीलाई २ मतले पराजित गराउनुभएको छ । एमालेका सुवेदीले १०९१ मत प्राप्त गर्नुभएको थियो ।
मोदी गाउँपालिकाका यी दुवै वडा र फलेवास नगरपालिकाको वडा नं. १ कार्किनेटामा नेकपा एमालेले आफ्नो विरासत गुमाएको छ । यी तीन ओटै वडामा यस अघिको निर्वाचनमा एमालेका उम्मेदवार वडाअध्यक्षमा विजयी हुनुभएको थियो ।









