पर्वत, ८ माघ
कोभिड १९ को तेश्रो लहरले व्यापकता लिइरहेको समयमा सार्वजनिक रुपमा प्रशासन कार्यालय पर्वतबाट जारी निषेधाज्ञाको आदेश विपरित कार्यक्रम सञ्चालन गर्न दिएको भन्दै पर्वतमा पार्टी प्यालेसका सञ्चालकलाई शनिबार विहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्वतका कुश्मा बजारमा सञ्चालित युनिभर्सल पार्टी प्यालेसका सञ्चालक प्रेम गुरुङ अशोकलाई प्रहरीले कार्यक्रम स्थलबाटै नियन्त्रणमा लिएको हो । पार्टी प्यालेसमा पर्वत जेसिजले २५ आँै अधिवेशन उद्घाटन समारोह सञ्चालन भएको थियो । जिल्ला प्रशासन कार्यालय पर्वतले गत ५ गते देखि पर्वतमा निषेधाज्ञाको आदेश जारी गरेको थियो । जस अन्तर्गत माघ १५ गते सम्मका लागि पूणर् रुपमा बन्द गर्ने सूचीमा पार्टी प्यालेस पनि समावेश गरिएको थियो ।
उक्त आदेशलाई उल्लंघन गरेर ४० देखि ४५ जना सम्मको सहभागितामा कार्यक्रम सञ्चालन गरेपछि सञ्चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक प्रदिप पौडेलले बताउनुभयो । नियन्त्रणमा रहेका सञ्चालकलाई प्रचलित कानुन बमोजिम कार्बाही गरिने पौडेलले बताउनुभयो ।
पर्वतमा कोभिड परीक्षणका क्रममा दैनिक ७२ देखि ८० प्रतिशतसम्ममा कोभिड १९ को संक्रमण देखिएको छ । स्मरण रहोस् अघिल्लो बर्ष पनि यही समयमा पर्वत जेसिजकै कार्यक्रमबाट संक्रमणले पर्वतमा व्यापकता लिएको थियो । फाइल फोटो







