सन्तोष थापा/पर्वत, ६ माघ
गण्डकी प्रदेश सरकार पर्यटन, उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको होमस्टे परियोजना अन्तर्गत पर्वतका ३ होमस्टे स्वीकृत भएका छन् । मन्त्रालयमा प्रस्ताव पेश गरेका गण्डकी प्रदेश भरका ६२ होमस्टे मध्ये ३० होमस्टे स्वीकृत भएका हुन् । जस अन्तर्गत पर्वतका ३ होमस्टे छनोट भएका छन् ।
स्वीकृत भएका पर्वतका तीन होमस्टे मध्ये पर्वतको मोदी गाउँपालिका ८ चित्रेमा सञ्चालित चित्रे ग्रामीण पर्यटन होमस्टे, मोदी गाउँपालिका कै वडा नं. १ मा सञ्चालित भुकदेउराली नमुनागाउँ सामुदायिक होमस्टे र सोही पालिकाको वडा नं. ५ बाजुङमा सञ्चालित पञ्चशिल सामुदायिक होमस्टे रहेका छन् ।

मन्त्रालयले प्रस्ताव स्वीकृत भएका होमस्टेलाई प्रति होमस्टे १० लाख बराबरको बजेट विनियोजन गरेको छ । जस मध्ये पर्वतको चित्रे ग्रामीण पर्यटन होमस्टेले निर्माणाधिन संग्रहालयलाई पूणर्ता दिने गरी गरेको प्रस्ताव स्वीकृत भएको हो भने भुकदेउरालीमा सञ्चालित होमस्टेले पदमार्ग निर्माण र पञ्चशिल होमस्टेले निर्माणाधिन सामुदायिक भवनलाई सम्पन्न गर्नका लागि बजेट प्राप्त गरेको छ ।

गण्डकी प्रदेशको पुस २७ गते सम्पन्न मन्त्रीस्तरको निणर्यले उक्त होमस्टेहरु स्वीकृत गरेको हो । मन्त्रालयले उक्त बजेट कार्यान्वयनका लागि मातहतका सम्बन्धित कार्यालयहरुमा सिफारिस समेत गरेको छ । जिल्लाबाट छनोट भएका होमस्टेलाई जानकारी गराइसकिएको र आवश्यक प्राविधिक मुल्याङकनका आधारमा काम तत्काल शुरु गर्ने योजना अघि बढाइएको घरेलु तथा साना उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले जानकारी दिनुभयो ।









