पर्वत, १० मंसिर
पर्वतको मोदी गाउँपालिकाले उद्योग दिवसको अवसर पारेर गाउँपाालिका स्तरीय स्थानीय घरेलु उत्पादनको प्रदर्शनी कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले पर्वतको सवैभन्दा होचो मोदी खोलाको सतह देखि सवैभन्दा अग्लो हम्पालसम्म उत्पादन भएका घरेलु, कृषि, पशु तथा उद्यमहरुको प्रदर्शनी गरेको हो ।
मंसिर ९ देखि मंसिर ११ गते सम्म सञ्चालन हुने गरी आयोजना गरिएको प्रदर्शनीमा विभिन्न २० भन्दा बढी स्टलहरुमा स्थानीय उत्पादन, स्थानीय खानाका परिकार, होमस्टेको आतिथ्यता, स्थानीय संस्कृति झल्किने गरी प्रदर्शनीहरु राखिएको छ । जिल्लाका सवैभन्दा धेरै होमस्टेहरु सञ्चालन रहेको मोदी गाउँपालिकाको चित्रे, भुक, क्याङ, लेस्पार, देउराली लगायतका स्थानबाट स्थानीय संस्कृति सहितको होमस्टे झल्किने गरी खाना तथा परिकारहरु प्रदर्शनी स्थलमा राखिएको छ भने उच्च भुभागमा उत्पादन हुने अल्लोका कपडा, नेपाली कागजबाट बनेका विभिन्न सामग्रीहरु प्रदर्शनीमा आकर्षणको रुपमा राखिएको छ ।

तीन दिन सम्म सञ्चालन हुने उक्त प्रदर्शनी विशेष गरी स्थानीय उत्पादनको प्रचारप्रसार र उद्यमीहरुलाई प्रोत्साहन दिलाउने उद्देश्यले आयोजना गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसन बहादुर क्षेत्रीले बताउनुभयो । प्रदर्शनीको उद्घाटन गर्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिकालाई समृद्धि बनाउनका लागि स्थानीय उत्पादनको बजारिकरण र प्रबद्र्धन महत्वपूणर् रहेको जानकारी दिँदै गाउँपालिकाले त्यो लक्ष्य प्राप्ति गर्नका लागि प्रदर्शनीको आयोजना गरेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष सेती महतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उद्यम शाखाकी सिता शर्मा, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारी, गाउँपालिका वडा नं. १ का वडाध्यक्ष गौप्रसाद गुरुङ, वडा नं. ७ का वडाध्यक्ष बसन्त गुरुङ, जिल्ला समन्वय समिति पर्वतका सदस्य नन्दलाल पौडेल लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार कृष्ण अखेलीले गर्नुभएको थियो ।









