पर्वत २ चैत । पर्वत उद्योग बाणिज्य संघमा केदारनाथ शर्मा नेतृत्वको कार्यकाल समाप्ति सँगै अहिले १७ औं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि व्यावसायिक प्रतिस्पर्धा शुरु भएको छ । संघको १२ फागुनमा सम्पन्न ३८ औं साधारणसभाबाट चैत ७ मा नयाँ नेतृत्वका लागि निर्बाचन तोकिएसँगै व्यवसायीहरुमा रौनक थपिएको हो ।
अहिले विशेष गरी दुई समुहले प्यानल सार्वजनिक गरेर प्रचार प्रसार अभियानमा जुटेका छन् । यस पटक उद्योग बाणिज्य संघको अध्यक्ष पदका लागि प्रगतिशिल समुहबाट गोपी अधिकारीको समुह अघि बढेको छ भने प्रजातान्त्रिक समुहबाट शिवशर्मा पौडेलको समुह चुनावी मैदानमा होमिएको छ ।
यस अघिका दुई कार्यकालहरु लगातार आफ्नो नेतृत्वमा पार्न सफल भएको पर्वतका व्यवसायीहरुको प्रगतिशिल समुह यस पटक पनि व्यवसायीहरुको मतबाट नै अधिकारी नेतृत्वको समुहलाई नेतृत्वमा स्थापित गराउने अठोटका साथ अघि बढिरहेको छ । ‘यस पटक हाम्रो समुहले ‘शिल्ड’ हात पार्ने विश्वासका साथ लागेका छौँ’ पुर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले भने ।
यसो त स्थापना कालदेखि नै प्रजातान्त्रिक समुहको नेतृत्वमा रहँदै आएको संघमा प्रगतिशिल समुहको नेतृत्व गर्दै मिनप्रसाद श्रेष्ठले १२ औं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचन जितेका थिए भने १५ औं अधिबेशनबाट हरिओम शर्मा लामिछानेले प्रगतिशिल प्यानलबाट अध्यक्षमा निर्वाचन जितेका थिए । तत् पश्चात १६ औं अधिबेशनमा केदारनाथ शर्माले सोही प्यानलबाटै झण्डै ४९ प्रतिशत मतान्तरले प्रजातान्त्रिक समुहका प्रत्यासी लेखनाथ शर्मालाई पराजित गराएका थिए ।
अहिले नेतृत्वमा रहेका केदारनाथ शर्माको कार्यकालमा भएका सफल अभ्यास व्यवसायीहरुको हितमा संघले गरेका कार्यहरुलाई नै प्रगतिशिल समुहले ‘हाम्रो कार्यकालमा भएका कार्यहरु’ भनेर गर्वका साथ चुनावी एजेण्डाका रुपमा अघि सारेको छ । ‘हाम्रो पालामा भएका कार्यहरुलाई हाम्ले गरेका कामहरु भनेर गर्वका साथ मतदाता समक्ष पुग्न सकेका छौँ’ प्रगतिशिल समुहका एक व्यवसायीले भने ‘व्यवसायीको हितमा गरेका कामहरु र अब गर्नुपर्ने कामहरु देखेर व्यावसायीहरुले हामीलाई नै रोज्नुहुन्छ भन्ने विश्वास छ ।’
प्रजातान्त्रिक समुहका पौडेल समुहलाई निर्वाचनमा होमिनु सकस त थियो नै त्यसमा पनि अधिकारी समुहमा राजनीतिक रुपमा समेत एकता देखिएपछि पौडेल समुहलाई झनै समस्या हुने देखिएको छ ।
पौडेल नेतृत्वको समुहले पनि पर्वतका लगभग सवैजसो स्थानमा मतदाता भेटघाट गरेर फर्किएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा पौडेल नेतृत्वको समुहपनि मसिनो गरी निर्वाचन कार्यक्रममा अघि बढेको छ । साना देखि ठूला व्यवसायी सम्मको सहभागिता आफ्नो समुहमा अघि सारेर हिडेको बताउने पौडेल समुहका लागि अहिले विधानतः समस्या उत्पन्न भएको छ । सदस्यता निरन्तर अद्यावधिक नगरेका व्यक्तिहरु पनि उम्मेदवारको रुपमा अघि सारिएका कारण ती उम्मेदवारहरु हेरफेर गर्नुपर्ने अवस्था आएपछि अहिले जिल्लाको राजनीतिक नेतृत्व देखि समुहको समर्थनमा रहेका प्रतिष्ठित व्यवसायीहरु सम्म गृहकार्यमा जुटेका छन् ।
संघको अध्यक्ष सहित २२ सदस्यका लागि आगामी चैत ७ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयका अनुसार संघका २ हजार ३ सय जना मतदाता रहेको बताईएको छ ।







