भूमिराज शर्मा
पर्वत, १९ चैत
जिल्लाको मोदी गाउँपालिका वडा नं ६ डिमुवामा रहेको मोदी द्धीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक कार्यक्रमका बीच राहत वितरण गरेको छ । कोरोना भाईरसको संभावित संक्रमण रोक्नको लागि गरिएको लकडाउनबाट प्रभावित भएका बिपन्न परिवारहरुलाई सो सहकारीले दैनिक उपभोग्य सामाग्रीहरु राहतस्वरुप वितरण गरेको हो । नौ दिनदेखिको लगातारको लकडाउनले दैनिक ज्यालादारी गरेर खाने गरीव तथा मजदुर परिवारहरुलाई विहान वेलुकाको छाक टार्न समस्या परेको भन्दै सहकारीले गाउँपालिकाका वडा नम्बर २, ५ र ६ का ७३ घर परिवारलाई ती राहत सामग्री बाँडेको हो ।

गाउँपालिकाको तीन ओटा वडाको बजार क्षेत्र डिमुवा र पातीचौरमा वसोवास गर्दै आएका समुदायका विपन्न बर्गलाई प्रति परिवार औसत दुई हजार पचपन्न रुपैयाँ गरी कुल एक लाख पचास हजार रुपैयाँ बराबरको चामल, दाल, नुन, तेल, साबुन वितरण गरेको सहकारीका अध्यक्ष ठक्कर प्रसाद शर्माले बताउनुभयो । सहकारीका अध्यक्ष शर्माले भन्नुभयो ‘प्रति परिवार सदस्य संख्याका अधारमा १५ देखि २५ केजी चामल, २ केजी दाल, १ किलो नुन, ५०० मिलि लिटरका खाने तेल र साबुन वितरण गरिएको छ ।
’ राहत वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं ६ का वडाध्यक्ष बिमल लामिछानेले लकडाउनमा मजदुरी गर्न नपाएका गरीब तथा विपन्न नागरिकलाई राहतले निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सामाजिक क्षेत्रमा सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको विचार व्यक्त गर्नुभयो । टोल विकास संस्थाहरुले स्थलगत रुपमा लगत संकलन गरेका परिवारहरुलाई राहत दिईएको सहकारीले जनाएको छ । उक्त सहकारीले डिमुवा पातीचौर क्षेत्रमा सरसफाइ, डिमुवा बजार देखि अम्बोट सम्म फोहोर व्यवस्थापनको लागि ८० ओटा स्ट्याण्ड सहितका बाल्टिनहरुको व्यवस्था, मृगौला र क्यान्सर पीडितहरुलाई आर्थिक सहयोग, मृत्यु भएका शेयर सदस्यका परिवारका लागि ऋण मिनाहा लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।
उक्त राहत वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तिलाहार देउपुर उपशाखा सभापति दिपेन्द्र जंग लामिछाने, देउपुर प्रहरी चौकी डिमुवाका इन्चार्ज होमनाथ अधिकारी , रेडियो शालिग्रामका कोषाध्यक्ष भूमिराज शर्मा, पातीचौर टोल विकास संस्थाका अध्यक्ष पे्रम बहादुर पौडेल र सहकारीका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।







