पर्वत, २१ चैत
पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पदम गिरी अहिले पर्वतको दक्षिण तथा सुदुरदक्षिण क्षेत्रमा समस्या पहिचानका लागि चाहार्दै छन् । पर्वतको अन्य क्षेत्र भन्दा विकास निर्माणका दृष्टिकोणले पिछडिएको दक्षिणी पैञ्यु गाउँपालिका र विहादी गाउँपालिका विभिन्न स्थानका सर्वसाधारणसँग सांसद गिरी समस्या सुन्न व्यस्त रहेका छन् । तीन दिन अघि पर्वतको पैञ्यु गाउँपालिका हुँदै निस्किएका सांसद गिरीले पैञ्यु गाउँपालिकाका स्थानीयबासीहरु सँग अन्तरक्रियात्मक छलफल गरी त्यहाँका समस्या र विकास निर्माणको अवस्था बारे जानकारी लिएका थिए । पैञ्यु गाउँपालिकामा उनले विभिन्न युवा उद्यमी तथा कृषकहरुसँगको भेटघाटका क्रममा त्यहाँ रहेका उद्यमशील कार्यहरुको अबलोकन गर्दै व्यवसायिक प्रबद्र्धनमा आफ्नो सकरात्मक सहयोग हुने आश्वासन दिएका थिए । युवाहरु बैदेशिक रोजगारको शिलशिलामा पलायन भइरहेको सन्दर्भमा पर्वतको पैञ्यु क्षेत्रका युवाहरुले सञ्चालन गरेका विभिन्न कृषि तथा पशुजन्य व्यवसायलाई आफ्नो सहयोग हुने उनको भनाई थियो ।

त्यस्तै अभियानकै क्रममा सांसद गिरीले नेपाल सरकार तथा प्रदेश सरकारबाट निर्माणाधिन विभिन्न विकास निर्माणका आयोजनाको समेत अवलोकन तथा अनुगमन निरिक्षण गरी कामलाई तिब्रता दिन निर्देशन समेत दिएका थिए । उनले कालीगण्डकी लोकमार्ग अन्तर्गत निर्माणाधिन सेतीवेणी खण्डको मोटरेबल पुलको समेत अवलोकन गरी बर्षायाम अगावै नदी भित्रको काम सम्पन्न गर्न निर्देशन दिएका थिए । उक्त पुल निर्माण सँगै कामले निरन्तरता नपाउँदा विहादी गाउँपालिका ६ शालिग्राममा रहेको बजार क्षेत्र जोखिममा परेको गुनासो आएपछि सांसद गिरीले निर्माण पक्षलाई समयमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।
गिरीले दक्षिणी विहादी गाउँपालिकामा समेत कृषि, पर्यटन तथा अन्य विभिन्न क्षेत्रसँग सम्बद्ध रहेर गाउँपालिकाको विकास र प्रबद्र्धनमा लागेका सर्वसाधरण सँग भेटघाट गरेका छन् ।

सांसद गिरीले दक्षिणी क्षेत्रका बासिन्दाहरु पहिलै देखि विकास निर्माणको प्रत्यक्ष सम्बन्धबाट बञ्चित बनेको कुरा स्मरण गराउँदै सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई सार्थकता तुल्याउन गुनासो र समस्या पहिचान अभियानमा हिँडेको बताए । उनले दक्षिणबासीका समस्यालाई केन्द्र सरकार र प्रदेश सरकारको समेत सहयोग लिएर समाधानको विकल्प खोज्ने जानकारी दिए ।







