पर्वत, ५ साउन
मुस्ताङको लोमान्थाङ गाउँपालिका, १ नेचुङमा पर्ने कोरला नाकाबाट औपचारिक रुपमा भन्सार संञ्चालनमा आएको १० महिनामा करिव ७ अर्व राजश्व संकलन भएको छ । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर छन्त्यालका अनुसार असार मसान्त सम्म ६ अर्व ९२ करोड राजश्व संकलन भएको जानकारी दिनुभयो ।
कोरला नाकामा ०८२ भदौ ३० देखि दोहोरो व्यापार शुरु भएको थियो । मुस्ताङ भन्सार कार्यालयको विवरण अनुसार ०८२/०८३ को असार मसान्त सम्म ३ हजार २ सय २३ इभी सवारी साधन भित्रिएका छन् । सवारी साधन तथा अन्य रेडिमेट सामानहरुबाट उक्त राजश्व रकम संकलन भएको हो ।
कोरला नाकाबाट यस अघि हस्तलिखित भन्सार प्रज्ञापन पत्र जारी जाँचपास प्रकृया हुन्थ्यो । अहिले भने मालवस्तुको विवरण कम्प्युटर प्रणाली माफर्त अनलाईन प्रज्ञापन पत्र जारी गरी जाँच पास गर्ने गरिएको छ ।
चीनबाट आएका ईभी गाडीहरु कोरला स्थित नेपाल र चिनको सिमानामा रहेको सुख्खा र खुल्ला बन्दरगाहमा राखिएका छन् । तत्पश्चात् जोमसोम हुँदै म्याग्दी, पर्वतको सडकबाट सम्बन्धित स्थानमा पुर्याउने गरिएको छ ।







