पर्वत १६ असार
पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा इसिडी (बालविकास) सहजकर्ताको सेवा–सुविधामा उल्लेखनीय वृद्धि गरेको छ। आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेटमार्फत गाउँपालिकाले विद्यालय कर्मचारीहरूको मनोबल उच्च बनाउने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने उद्देश्यले मासिक सेवा–सुविधा बढाएको हो।
गाउँपालिकाले स्वीकृत गरेको नयाँ व्यवस्था अनुसार विद्यालयका लेखापालको मासिक सेवा–सुविधामा रु. ५ हजार वृद्धि गरी रु. २७ हजार कायम गरिएको छ। त्यसैगरी, माध्यमिक तहका कार्यालय सहयोगीको सेवा–सुविधा रु. २ हजारले बढाएर रु. १९ हजार पुर्याइएको छ भने आधारभूत तहका कार्यालय सहयोगीको मासिक सेवा–सुविधा रु. १ हजार वृद्धि गरी रु. १८ हजार कायम गरिएको छ। यसैगरी, इसिडी (बालविकास) सहजकर्ताको मासिक सेवा–सुविधामा रु. ३ हजार वृद्धि गर्दै रु. २२ हजार पुर्याइएको गाउँपालिकाले जनाएको छ।
स्थानीय तहबाट गरिएको यो निर्णयले सामुदायिक विद्यालयको प्रशासनिक व्यवस्थापनमा संलग्न कर्मचारी तथा प्रारम्भिक बालविकास क्षेत्रमा कार्यरत सहजकर्तालाई आर्थिक रूपमा राहत पुग्नुका साथै उनीहरूको कार्यसम्पादनमा थप उत्साह र जिम्मेवारीबोध बढ्ने अपेक्षा गरिएको छ।
मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीका अनुसार शिक्षामा गरिएको लगानीले दीर्घकालीन रूपमा गाउँपालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ सेवा–सुविधा वृद्धि गरिएको हो।
गाउँपालिकाको यस निर्णयप्रति स्थानीय सरोकारवाला, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले कर्मचारीको सेवा–सुविधा वृद्धिले विद्यालयको प्रशासनिक कार्यसम्पादनमा सुधार आउनुका साथै प्रारम्भिक बालविकास कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।







