पर्बत,
पर्बत समाज यूएईको आयोजनामा तथा निको पोलिक्लिनिकको सौजन्यमा आगामी अप्रिल २६ गते आइतबार यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने भएको छ।
व्यस्त जीवनशैलीका कारण धेरै नेपालीहरूले आफ्नो स्वास्थ्यप्रति पर्याप्त ध्यान दिन नसकेको अवस्थालाई मध्यनजर गर्दै समयमै स्वास्थ्य परीक्षण गराई सम्भावित रोगहरूको पहिचान गर्न र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न प्रकारका आधारभूत स्वास्थ्य परीक्षणहरू निःशुल्क रूपमा उपलब्ध गराइनेछ। यूएईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई लाभ लिन आयोजकले हार्दिक अनुरोध गरेको छ। साथै, आफन्त तथा साथीभाइलाई समेत जानकारी गराई सहभागिता बढाउन आग्रह गरिएको छ।
कार्यक्रम दुबईस्थित मोस्तफावी बिजनेस सेन्टर (शराफ डीजी मेट्रो स्टेशन एक्जिट–१ नजिक) मा दिउँसो १२:०० बजेदेखि साँझ ६:०० बजेसम्म सञ्चालन हुनेछ।
“स्वास्थ्य नै अमूल्य सम्पत्ति हो, समयमै परीक्षण गरौं, सचेत बनौं र स्वस्थ जीवनतर्फ अघि बढौं,” भन्ने सन्देशका साथ कार्यक्रमलाई सफल बनाउन सबैको सक्रिय सहभागिता रहने विश्वास आयोजकले व्यक्त गरेको छ।








