पर्बत १, जेठ
कास्कीकाे अन्नपुर्ण गाउँपालिका–४, सल्यानका ५६ वर्षीय बमबहादुर भुजेल कालीगण्डकी नदीमा बेपत्ता भएका छन्। बैशाख ३१ गते दिउसाे चाैरासी पूजाको फूल बगाउने क्रममा उनलाई नदीले बगाएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्बतका अनुसार, भुजेल दिउँसो कालीगण्डकी नदी किनारमा पूजा सामग्रीसहित गएका थिए। फूल बगाउने क्रममा अचानक उनलाई नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन्।
घटनाको खबर पाउनासाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तत्काल घटनास्थल पुगी बेपत्ता भुजेलको खोजी कार्यमा जुटेको थियाे। तर, हालसम्म उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक सुमित श्रेष्ठले भने, “हामीले घटनाको जानकारी पाउनेबित्तिकै खोजी तथा उद्धार कार्य सुरु गरेका छौँ। नदीमा पानीको बहाव उच्च रहेकाले खोजी कार्य चुनौतीपूर्ण बन्न सक्छ। हामी सबै सम्भावित उपायहरू अपनाएर उहाँलाई सकुशल फेला पार्ने प्रयास गरिरहेका छौँ।”
भुजेलको परिवारजनले उहाँको सकुशल उद्धारका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन्। यस घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।खोजी कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ।






