पर्वत, २० असोज । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनलाई लक्षित गर्दै प्रवासमा रहेका पर्वतेलीहरु धमाधम जिल्ला फर्किने क्रम बढ्दै गएको छ । १४ अक्टुबर २०२३ (असोज २०८०) शनिवारका दिन हुने सो अधिवेशनका लागि देश बाहिर रहेका पर्वतेलीहरु फर्किने क्रम बढेको हो ।
अधिवेशनको समय नजिकिँदै गर्दा अमेरिका, बेल्जियम, जर्मन लगायतका देशमा रहेका पर्वतेलीहरु प्रतिनिधिमुलक सहभागिताका लागि जिल्लामा आएका हुन् । हालको समितिका कतिपय पदाधिकारी तथा सल्लाहकारहरु जिल्लामा आइसकेका छन् भने कतिपय आउँदै गरेको र कतिले यात्रा तय गरिसकेको संस्थाका महासचिव मणीप्रसाद भुर्तेलले जानकारी दिनुभयो ।
नेपालीहरुको अन्तराष्ट्रिय संस्था एनआरएनएको अधिवेशन नजिकिँदै गइरहेको सन्दर्भका कारणले पनि यस पटकको अधिबेशन महत्वका साथ हेरिएको छ । अन्तराष्ट्रि पर्वत समाजमै आबद्ध हुनुभएका पर्वतको कुश्मा नगरपालिकाका स्थायी बासिन्दा महेश कुमार श्रेष्ठ एनआरएनएको अध्यक्षमा प्रतिस्पर्धी हुने गरी उम्मेदवारी घोषणा समेत भइसकेको सन्दर्भमा अन्य अध्यक्षका प्रत्यासीहरु पनि अन्तराष्ट्रिय पर्वत समाजको अधिवेशनमा सहभागी हुन सक्ने अपेक्षा गरिएको महासचिव भुर्तेलले बताउनुभयो ।
अधिवेशन कार्यक्रमलाई लक्षित गर्दै जलजला गाउँपालिका वडा नं. ४ स्थित माझफाँटमा हेलिप्याड समेत निर्माण गरिएको छ । वडा कार्यालय र नेपाली सेनाको संयुक्त प्रयासमा हेलिप्याड निर्माण सम्पन्न भएको हो । त्यस्तै अधिवेशनलाई सभ्य र भब्य बनाउनका लागि विभिन्न समिति र उपसमितिहरु बनाएर तयारी तीव्र पारिएको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले जानकारी दिनुभयो ।
‘समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान’ भन्ने नारा सहित मल्लाज दरवारमा आयोजित अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका प्रमुखमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको छ । अधिवेशन असोज २६ गते विहान ११ बजे शुरु हुने छ ।









