पर्वत, ३ असोज
बहिनी नाता पर्ने १५ बर्षीया बालिकालाई दाजु नाता पर्ने व्यक्तिले २०७७ फागुन ९ गते बलात्कार गरेको कसुरमा पर्वत जिल्ला अदालतले आरोपितलाई १८ बर्ष कैद सजाय र ५ लाख ४० हजार रुपैँया जरिवानाको सजाय सुनाएको छ ।
पर्वत जिल्ला अदालतको भदौ ३१ गतेको फैसलाले आरोपित ४४ बर्षिय दाजु नाता पर्ने व्यक्तिलाई १४ बर्ष कैद सजायमा हाडनाता कसुर कायम गरी उक्त कसुर अन्तर्गत ४ बर्ष थप गरी १८ बर्ष कैद सजाय र ५ लाख ४० हजार रुपैँया जरिवानाको सजाय सुनाएको पर्वत जिल्ला अदालतका श्रेष्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो । साथै अदालतले पिडितलाई क्षतिपुर्ति वापत १ लाख रुपैँया दिलाउन आदेश दिएको छ भने पिडित राहत कोषमा रहने गरी २१ हजार ६ सय रुपैँया दिलाउन आदेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले पिडित बालिकाको परिवारको तर्फबाट २०७८ बैशाख १४ गते उजुरी परेपछि प्रहरीले सरकारी वकिल कार्यालय पर्वत मार्फत २०७८ बैशाख २८ मा पर्वत जिल्ला अदालतमा जबर्जस्ती करणी अन्तर्गत मुद्धा दायर गरेको थियो । २०७८ बैशाख २८ गते पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई पर्वत जिल्ला अदालतको २०७९ मंसिर २९ गतेको फैसलाले १४ बर्ष कैद सजायको फैसला सुनाएको थियो ।
उक्त फैसला उपर चित्त नबुझेपछि आरोपित व्यक्तिले उच्च अदालत पोखरा बागलुङ इजलास बागलुङमा रिट दायर गरेका थिए । उक्त रिट उपर उच्च अदालत पोखरा बागलुङ इजलाशले पुन पर्वत जिल्ला अदालतलाई फैसला पुनरावलोकनका लागि २०८० जेठ १६ मा पत्रपठाएको थियो । पर्वत जिल्ला अदालतले उक्त मुद्धालाई पुनः २०८० असार ३ गते दर्ता गरी भदौ ३१ गते उक्त फैसला सुनाएको हो ।






