पर्वत, ५ जेठ
पर्वतको मोदी खोलामा सशस्त्र प्रहरी बल चण्डिका गणको आयोजनामा जिल्लाका सुरक्षा निकायहरुले संयुक्त रुपमा जलउद्धार अभ्यास सम्बन्धि डेमोस्ट्रेसन प्रदर्शन गरेका छन् । शसस्त्र प्रहरी सहित नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार संयुक्त डेमो प्रदर्शनी गरेका हुन् ।
डेमो प्रर्दशनीमा उनीहरुले जल उत्पन्न विपद्को पूर्वतयारी, डुवान भएपछि विपद् ग्रस्त वस्तिका स्थानीयहरुलाई सुरक्षित स्थलमा स्थानान्तरण, अग्लो स्थानबाट गरिने उद्धार र विधि, नदिमा हाम फालि बेपत्ता भएका व्यक्तिहरुको उद्धार कार्यका साथै भिर तथा खोचहरुमा खसेका घाईते एंव पीडितहरुको उद्धार लगायतको अभ्यास गरिएको थियो ।
त्यस्तै विपतबाट पीडित व्यक्तिहरुलाई एमएफ टिमद्धारा प्राथमिक उपचार गरि घाईतेहरुलाई एम्बुलेन्स मार्फत अस्पतालमा पठाइएको थियो । मोदीखोला स्थित दोविल्ला किनारमा देखाइएको प्रर्दशनीमा झोलुङगे पुलबाट रसी मार्फत नदीमा उद्धारटोली पुगेर पिडितलाई उद्धार गरेको विषयलाई प्राथमिकतासाथ देखाइएको थियो ।
अभ्यास डेमो प्रर्दशनमा सशस्त्र प्रहरी बल तर्फका नेपाल नं. २५ गण हेडक्वाटर, नयाँ भैरवीदल गुल्म, जिल्ला प्रहरी कार्यालय पर्वत लगायतमा कार्यरत सुरक्षाकर्मीले आफ्ना कला कौशल प्रर्दशन गरेका थिए । नेपाल रेडक्रस सोसाइटीले समेत उद्धार कार्यमा सहभागी भएको जनाउँदै डेमोमा सहभागीता जनाएको थियो । सोही कार्यक्रम अन्तर्गत घरभित्रको लापरबाहीका कारण हुन सक्ने आगलागी जन्य घटना सम्बन्धि डेमो समेत प्रदर्शन गरिएको थियो । जसमा ग्याँसको सही सदुपयोग र बच्न सक्ने उपायका बारेमा प्रदर्शन गरिएको थियो ।
विपद्ले प्राकृतिक तथा भौतिक संरचनाहरु र स्रोतहरु नष्ट गर्दछ । भौगोलिक विविधता, भूबनोट तथा जलवयूको विविधता, विपद्को सामना गर्न सक्ने क्षमता, जनसंख्या बृद्धि, अव्यवस्थित शहरीकरण र बसोबास लगायतका कारण नेपाल विपद् जोखिमम बढी छ । त्यसमध्ये पनि अधिकांश प्रकोपहरु मौसमजन्य कारणहरुबाट नै हुन्छ । यस्ता किसिमका विपद्हरुको व्यवस्थापन र क्षतिको न्यूनिकरण गर्न उद्धारका लागि पूणर् अभ्यास सहितको डेमो प्रर्दशनी गरेको शसस्त्र प्रहरी बल २५ नं. गणका गणपति अरविन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले सवै विपद् उद्धार टोलीलाई तैनाथ भएर रहन आग्रह गर्नुभयो । उहाँले मौसम प्रतिकुलता सँगै बर्षायाम शुरु भएको बताउँदै जुनसुकै अवस्थामा पनि तत्काल उद्धार गर्न पुग्ने गरी तयार रहन आग्र गर्नुभयो ।









