हरि जिसी/पर्वत, ४ जेठ
पर्वतको जलजला गाउँपालिका ४ माझफाँटमा अवस्थित शिवालय गुफाको संरक्षण र व्यवस्थापनका लागि महायज्ञ सञ्चालन गरिएको छ । शिवालय गुफा संरक्षण समितिको आयोजनामा बैशाख ३१ गतेदेखि शिवपुराण महायज्ञ सञ्चालन गरिएको हो ।
स्थानीयबासीले दिएको जानकारी अनुसार हाल सम्म ३ लाख भन्दा बढी रकम संकलन भइसकेको छ भने महायज्ञ जेठ १० गते सम्म सञ्चालन हुने भएको छ । समितिले शिवालय गुफामा मन्दिरको संरचना निर्माण गर्न र पुजारीलाई व्यावस्थापनका लागि अक्षयकोष खडा गर्ने मुख्य उद्देश्यले उक्त महायज्ञ आयोजना गरिएको हो ।

१० दिन सम्म सञ्चालन हुने उक्त महायज्ञमा पण्डित मुरारी पौडेलले कथा प्रबचन गर्दै आउनुभएको छ । महायज्ञ आयोजनाका लागि पुजारी परमानन्द गिरीले संकल्प गर्नुभएको आयोजकले जनाएको छ । गुफामा अहिले प्राचिनकालिन मठमन्दिरहरु रहेको र ती मठमन्दिरको संरक्षण गर्नका लागि पनि महायज्ञ आयोजना गरिएको स्थानीय हरि जिसीले बताउनुभयो ।









